श्रीराम सुगर मिल्सबाट भुक्तानी पाउने व्यवस्था मिलाइदिन संसदीय समितिलाई उखु किसानकाे ज्ञापनपत्र

श्रीराम सुगर मिल्स।

श्रीराम सुगर मिल्स, रौतहटबाट भुक्तानी पाउने व्यवस्था मिलाइदिन उखु किसानहरुले संसदीय समिति समक्ष ज्ञापनपत्र बुझाएका छन्।

आइतबार सिंहदरबारस्थित प्रतिनिधिसभाको उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिमा ज्ञापनपत्र बुझाउँदै उखु किसानहरुले मिल्सबाट आफूहरुले पाउनुपर्ने भुक्तानी छिटो पाउने व्यवस्था मिलाइदिन माग गरेका हुन्। 

उखु उत्पादक संघका सचिव सफीन्द्रप्रसाद यादवले सभापति बिमलप्रसाद श्रीवास्तवलाई उक्त ज्ञापनपत्र बुझाएका हुन्  ।

श्रीराम सुगर मिल्सले आर्थिक भार थाम्न नसक्ने भन्दै २०७७ साउन ११ गते सूचना प्रकाशन गरी सदाको लागि उद्योग बन्द भइसकेको जनाइसको छ।

उद्योगबाट पाउनुपर्ने ४१ करोड रुपैयाँ दशैंअघि नै पाउने व्यवस्था मिलाइदिन पनि किसानहरुले समिति समक्ष माग गरेका छन्।आफूहरुले पाउनुपर्ने भुक्तानी दिन उद्योगले असक्षम भएको भन्दै सरकारले भनै उठन बाँकी रकम दिनुपर्ने उनीहरुको माग छ।

चिनी मिल सञ्चालकसँग भुक्तानी माग्दा जग्गा बिक्री भएपछि मात्रै भुक्तानी दिने जवाफ आएकाले आफूहरु अन्योलमा परेको गुनासो किसानहरुको छ।

त्यसबाहेक उद्योगका श्रमिक तथा कर्मचारीले पनि पाँच महिनाको तलब–भत्ता तथा डेढ वर्षको सञ्चयकोष गरी करिब ४ करोड रुपैयाँ नपाएको भन्दै दशैं अगाडि नै सबै भुक्तानी पाउनुपर्ने ज्ञापनपत्रमा उल्लेख छ।

आफ्ना मागहरुको सम्बोधन गराउन मन्त्रालय र समितिले निर्देशनात्मक आदेश दिनेमा आफूहरु आशावादी रहेको पनि किसानहरुको भनाइ छ। 

किसानहरुले आर्थिक वर्ष २०७१/०७२ को १२ करोड रुपैयाँ, आर्थिक वर्ष २०७५/०७६ को २८ करोड ५० लाख रुपैयाँ र आर्थिक वर्ष २०७६/०७७ को ५० लाख रुपैयाँ गरी कुल ४१ करोड रुपैयाँ भुक्तानी पाउन बाँकी रहेको बताएका छन्।

रौतहटमा करिब १८ हजार किसानले उखु खेती गर्दै आएको तर उखु मिल नै बन्द भएपछि सबै किसानको आम्दानी बन्द हुँदा हजारौं घरपरिवारको आयस्रोत बन्द भएको किसानहरुको भनाइ छ।

प्रकाशित मिति: : 2020-10-11 08:24:00

प्रतिकृया दिनुहोस्