मौनतामा विलिन आवाज

पूजा भुसाल

एउटा अध्यारो कोठा। ढोका र झ्यालहरू पर्दाले छोपिएका छन्। चारैतिर सामान लथालिङ्ग छन्। लाग्छ त्यो ठाउँमा युद्व भएको छ। कोठाको एउटा कुनामा म काँपेर बसिरहेकी छु। मेरा कपडा कहीँ कतैबाट च्यातिएका छन्।

 शरीरमा कोतरिएका दाग छन्। मेरा आँखाबाट आँशु अविरल बगिरहेका छन्। मेरा शरीरका प्रत्येक अङ्गहरू दुखेका छन्। म राम्ररी उठ्न पनि नसक्ने अवस्थामा छु। बिना आवाज  म रोइरहेकी छु। केही समय अघि सधैँझैं म खेल्नको लागि साथीलाई बोलाउन गएँ।

 ‘ए जुनू,खेल्न आईज,छिटो।जुनू ढोका खोलेर बिस्तारै पाईला चाल्दै आई। तर यो पटक खेल्न आउँदा उसको मुहारमा केही रौनक नै थिएन। ऊ निराश थिई। 

मैले सोधेँ, ‘के भयो जुनू,रिसाएकी हो म सँग?’ऊ केही बोलिन। केहीवेर मैले कर गरेपछि भनि, ‘म अब तेरो घर कहिल्यै आउँदिनँ। हिजो म तलाई खोज्न तेरो घर गएकी थिएँ। त थिईनस्। 

त्यहाँ तेरो अंकल मात्र हुनुहुन्थ्यो। ‘नानु त छैनन्। आज तिमी म सँग खेल। म तिमीलाई धेरै नयाँ अनि राम्रो खेल खेलाउँछु’, यति भनेर उहाँले मलाई कोठा भित्र लग्नुभयो।मलाई नराम्रो तरिकाले छुनुभयो।जताततै हात लग्नुभयो। मैले के गरेको यस्तो भन्दै टाढा जाने कोशिस गरेँ। तर उहाँले मलाई बेस्सरी च्यापेर केही हुँदैन जुनू,रमाइलो हुन्छ भन्दै तान्नुभयो।मेरो कपडा जबरजस्ती खोल्न थाल्नुभयो।अनि बेस्सरी खाटमा धकेल्नुभयो। 

म धेरै कराएँ। तर अह! छोड्नुभएन। केही सिप नलागेपछि मैले हतासिएर नजिकै भएको बेल्टले अङकललाई हाने।उहाँको आँखा नजिक लाग्यो। अनि म त्यँहाबाट भागेर आएँ,’ उसले यत्ति भनेर रूदै घर गई। म केही बोल्नै सकिनँ।

मेरो अंकल गाउँबाट कलेज पढ्नको लागि हाम्रो घर आउनुभएको थियो। घरमा आमा र बुवा व्यस्त हुनाले मेरो रेखदेखको लागि अंकल बस्नुभएको थियो। अब घरमा अंकल हुने भएपछि मलाई डर लाग्न थाल्यो। जुनूको आवाज मेरो कानमा गुञ्जिरहेको थियो। 

एकदिन अंकल कलेज नै नगई घरमा बस्नुभएको रहेछ। म पनि स्कुलबाट फर्किसकेको थिएँ। म १ कक्षामा पढ्ने हुनाले मेरो छुट्टी छिट्टैहुन्थ्यो। आमा बुवा पनि घरमा हुनुहुन्न रहेछ। मलाई भोक लागिरहेको थियो। खानको लागि केही छ कि भनेर हेर्दै थिएँ। अचानका अंकल आउनुभयो। ‘नानु एकछिन खेलेर खाजा खाने ल? आज म खेलाउँछु खेल,’ म झस्किएँ। मैले डराएर हुन्न भने। म कोठाबाट बाहिर जाने कोशिस गरेँ। उहाँले मलाई तान्नुभयो। अब त ढोका पनि बन्द भयो। अब म के गर्ने। आत्तिएँ। 

‘नानु त अङकलले भनेको नमान्ने? मैले यो खेल तेरो साथीसँग पनि खेलिसकेको छु। उसलाई भन्दा तलाई अझ राम्ररी खेलाउँछु। केही पनि हुन्न। धेरै रमाइलो हुन्छ। एकछिन मात्र हो।’

‘नाई हुन्न ,यो खेल पनि नराम्रो। अनि तपाई पनि नराम्रो,’ म धेरै रोएँ। अह!उहाँमा दया पलाएन। मेरो मुख रूमालले बाधिँदिनुभयो। मेरो शरीरको सबै कपडा खोलेर नाङ्गो बनाउनुभयो। मेरो शरीरको हरेक भागमा दुख्ने गरि समाउनुभयो। म बाँधिएकी थिएँ। 
न म कराउन सक्थेँ न त उम्कन नै। 

म आज बलात्कृत भए। मेरो योनीबाट धेरै रगत बग्यो। मलाई धेरै पीडा भयो। ‘कसैलाई केही पनि नभन् नत्र म तँलाई धेरै कुट्छु।’ कुटाइको डरले न त मैले कसैलाई केही भन्न नै सकेँ न त रून नै। बस चुपचाप सहिरहेँ।

त्यो केही समय बितेको पनि एक वर्ष भयो। यो बिचमा म सयौं पटक बलात्कृत भइसकेकी थिएँ। मैले सबै पीडा र वेदना आफूभित्रै लुकाएँ। उहाँको मनोबल झन् झन् बढ्दै गयो। म जति जति बेला एक्लो हुन्थेँ त्यति त्यति बेला बलात्कृत हुन पुग्थेँ। 

म जति धेरै कराए पनि रोए पनि उहाँलाई म माथि माया अनि दयाको भावना जागेन। किन माया अनि दयाको भावना जाग्थ्यो र? जब मान्छेमा जनावर र राक्षसपन बढ्दै जाँदोरहेछ तब उसले नाता त के मानवताको नाता पनि बिर्सदो रहेछ।

 म न त एक छोरी नै थिएँ, न त एक अवोध बालिका नै। म त केवल उहाँको यौन प्यास मेटाउने अनि इच्छा पूर्ति गर्ने एक खेलौना मात्र थिएँ जसलाई उहाँले जुन बेला पनि खेलाउन पाउनुहुन्थ्यो।

आज म एकैदिनमा चार पटक बलात्कृत भएकी थिएँ। मेरो शरीरमा अनेक चिथोरिएका दागका साथै अनेकौ पीडा छन्। हो आज यहाँ युद्व भएको छ। एउटा बालिकाले आफ्नो ज्यान अनि शारीरिक पीडाबाट बच्नको लागि भएको युद्व। 

जसमा  उ हारिसकी। आज मैले आफ्नो ज्यान बचाउने क्रममा अंकललाई बेल्टले हानेर घाइते बनाउन सफल भएँ। तर आफ्नो जीवनमा हारिसकेकी थिएँ। मलाई आफ्नै शरीरदेखि घृणा लाग्न थालेको थियो। 

केही फोहोर लागे जसरि आफ्नो शरीरलाई टक्टक्याउन थालेँ। तर अफसोस। त्यो टक्टक्याएर जाने फोहोर थिएन। आखिर मेरो के गल्ती भयो र जसको मैले यति पीडादायक सजाय पाएँ। आखिर म नै किन? के मैले केटीमा हुने योनीसहित जन्म लिएर गल्ती गरेँ?

केही समय पश्चात् आमा बुवा आउनुभयो। मैले आफ्नो आँशु पुछेर बसेँ। उहाँहरू मेरो नजिक आउनुभयो। मलाई देखेर सोध्नुभयो, ‘के भयो नानु,किन यस्तो मलिन अनुहार बनाएको?’मेरो उत्तर आयो, ‘म लडे।’ 

 बाबाले भन्नुभयो ‘धत्, यति सानो कुरामा पनि रून्छन् त? म मल्हम लगाइदिहाल्छु नि।’ तर मेरो रूवाइको औषधी मल्हम थिएन। जुन मैले बयान नै गर्न सकिनँ। मेरो आवाज मौनतामा विलिन भयो।

(माथि उल्लेखित कथाको म पात्र जस्तै कतै हाम्रा छोरी, बहिनी अनि दिदी आफ्नै घर अनि आफ्नो ठाउँमा आफ्नै मान्छेद्धारा शोषित अनि बलात्कृत त भएका छैनन्?)

प्रकाशित मिति: : 2020-10-12 11:46:00

प्रतिकृया दिनुहोस्