लकडाउनमा दलित समुदायका १३ जनाको हत्या, ४ बलात्कारका घटना

सांकेतिक तस्बिर ।
सांकेतिक तस्बिर ।

कोरोना भाइरसको महामारीपछि भएको लकडाउनको अवधिमा दलित समुदायमाथि विभिन्न समयमा हिंसात्मक घटना भएको पाइएको छ । राष्ट्रिय मानवअधिकार आयोगले सार्वजनिक गरेको दलित समुदायको मानवअधिकारको अवस्था प्रतिवेदनमा हिंसात्मक घटना भएको उल्लेख छ ।

प्रतिवेदनअनुसार बन्दाबन्दी (लकडाउन)को समयमा १३ वटा हत्याको घटना भएको उल्लेख छ । त्यस्तै, दलित युवतीमाथि चारवटा बलात्कारका घटना भएका छन् । आयोगको प्रतिवेदनअनुसार रुकुम (पश्चिम) चौरजहारी नगरपालिका–८ सोती निवासी सुष्मा मल्ल र जाजरकोट भेरी नगरपालिका–४, रानागाउँका नवराज विश्वकर्माबीचको अन्तरजातीय प्रेम सम्बन्धलाई विवाहमा परिणत गर्ने सन्दर्भलाई लिएर १० जेठ २०७७ मा स्थानीय गाउँलेको सामूहिक कुटपिटमा परेर नवराज विक, टीकाराम विक, लोकेन्द्र सुनार, गणेश बुढा मगर, सञ्जु विक र गोविन्द शाहीको सामूहिक हत्या भएको थियो ।

त्यस्तै, ११ जेठ २०७७ मा रूपन्देही देवदह नगरपालिका–११ गुम्बीकी अंगिरा पासीको स्थानीय रोहिणी खोलाको किनारा नजिकको रुखमा झुन्डिएको अवस्थामा लास भेटिएको थियो । स्थानीय युवा वीरेन्द्र भरसँग प्रेम सम्बन्ध रहेकाले वडा अध्यक्षको उपस्थितिमा केटीको जिम्मा लगाइएको उल्लेख छ । अंगिराका बुबाले आफ्नी छोरीको हत्या भएको भन्दै उजुरी दिए पनि दर्ता नभएको प्रतिवेदनमा लेखिएको छ ।

अछामको पञ्चदेवल विनायक नगरपालिका–९ कालेडाँडा भानाकोटकी १८ वर्षीया उर्मिला टमटालाई सोही गाउँका तिलक बटालाले विवाह गर्ने प्रलोभनमा यौन शोषण गरेर हत्या गरे । तर, सो घटनामा बटालालाई कारबाही भएको छैन । प्रदेश २ धनुषाको सबैला नगरपालिका–१२ बस्ने २२ वर्षीय शम्भु सदाको इलाका प्रहरी कार्यालयमा झुन्ड्याएर निर्ममतापूर्वक हत्या भएको आयोगको प्रतिवेदनमा जनाइएको छ । ्

२६ जेठमा रूपन्देहीको तिलोत्तमा नगरपालिका–१० का माधव मसुहर, जानकी मुसहर, पोषराज मुसहरलगायतको सामूहिक हत्या भयो । त्यस्तै, १४ जेठमा भारतको चेन्नईबाट फर्केका १६ वर्षीय राजु सदा क्वारेन्टिनमा झाडापखालाबाट ग्रस्त भएसँगै जनकपुर प्रादेशिक अस्पतालमा मृत्यु भयो ।

प्रकाशित मिति: : 2020-10-19 07:41:00

प्रतिकृया दिनुहोस्