बुटवल र पाल्पामा थप दुई कोरोना संक्रमितको मृत्यु

बुटवल र पाल्पामा थप दुई कोरोना भाइरस संक्रमितको मृत्यु भएको छ।

कोरोना विशेष अस्पतालमा मंगलबार बिहान बुटवल ११ की ४४ वर्षीया महिलाको मृत्यु भएको हो। सोमबार स्वास्थ्यमा समस्या आएपछि लुम्बिनी प्रादेशिक अस्पताल पुगेकी उनको पीसीआर परीक्षण गर्दा कोरोना संक्रमण भएको पुष्टि भएको थियो।

कोरोना संक्रमण देखिएपछि उनलाई कोरोना अस्पतालको भेन्टिलेटरमा राखी उपचार गरिएको थियो। उपचारकै क्रममा मंगलबार बिहान ५ बजेर १० मिनेटमा उनको मृत्यु भएको अस्पतालका सूचना अधिकारी डा विष्णु गौतमले जानकारी दिए।

ती महिलामा मधुमेहको समस्या थियो। यससँगै उक्त अस्पतालमा कोरोनाले मृत्यु हुनेको संख्या ३५ पुगेको छ।

यता तानसेन नगरपालिका २ की ८५ वर्षीय वृद्धको कोरोना संक्रमणका कारण मृत्यु भएको छ।

तानसेनस्थित युनाइटेड मिसन अस्पतालमा उपचारका क्रममा वृद्धको शनिबार निधन भएको स्वास्थ्य कार्यालयका सूचना अधिकारी ओमप्रकाश पन्थीले जानकारी दिए।

शनिबार मृत्यु भएपनि स्वाब परीक्षणको नतिजा ढिला आएकाले स्वास्थ्य कार्यालयले सोमबार बेलुकी मात्र पुष्टि गरेको हो।

पाल्पामा योसँगै मृत्यु हुनेको संख्या ६ पुगेको छ।

प्रकाशित मिति: : 2020-10-20 08:56:00

प्रतिकृया दिनुहोस्