ब्राजिलले संक्रमितकाे उपचारमा चीनले बनाएकाे ‘कोरोनाभ्याक’ खाेप प्रयाेग गर्ने

ब्राजिलले चीनमा विकास गरिएको खोपको प्रयोग गर्ने भएकाे छ। कोरोना भाइरसको महामारीका कारण सबै भन्दा बढी प्रभावित भएपछि यो निर्णयमा पुगेको जनाइएको छ।

ब्राजिलमा अहिलेसम्म झण्डै ५३ लाख मानिस संक्रमित भएका छन् भने काेराेना भाइरसका कारण करिब एक लाख ५५ हजारको ज्यान गएको छ।

ब्राजिलले नेशनल इम्युनाइजेसन कार्यक्रम अन्तर्गत चीनमा विकास भएको खोप प्रयोग गर्ने तयारी गरेको सरकारी अधिकारीले पुष्टि गरेका हुन्।

चिनियाँ कम्पनी सिनोभाक बायोटेकले विकास गरेको ‘कोरोनाभ्याक’को प्रयोगका लागि ब्राजिलमा प्रयोगका लागि त्यहाँको स्वास्थ्य नियामक निकायको स्वीकृति चाहिन्छ। चिनियाँ खोपको ब्राजिलमा पनि परीक्षण भइरहेको छ।

ब्राजिलले बेलायतको अक्सोफोर्ड विश्व विद्यालयले औषधि निर्माता कम्पनी एस्टा्जेनेकासँगको सहकार्यमा विकास गरेको खोप पनि इम्युनाइजेसन कार्यक्रममा प्रयोग गर्ने योजना बनाएको छ।

साओ पाउलोको गभर्नर जोआओ डोरियाले संघीय सरकार चीनको सिनोभाकले निर्माण गरेको खोप ‘कोरोनाभ्याक’ किन्ने सहमति गरेको बताएका छन्। उनका अनुसार संघीय सरकार सो खोपका चार करोड ६० लाख डोज किन्न सहमत भएको हो।

इम्युनाइजेसन कार्यक्रम आउँदो जनवरीमा सुरु हुने डोरियाले बताएका छन्। महामारी विरुद्ध खोप लगाएर व्यक्तिलाई इम्युनाइज गर्ने यो विश्वको पहिलो कार्यक्रम हुने उनको दाबी छ।

यसअघि सिनोभ्याकले आफूले विकास गरिरहेको कोरोना भाइरस विरुद्धको खोप ‘कोरोनाभ्याक’ सन् २०२१ मा तयार हुने दावी गरेका थियाे।

सिनोभ्याकका प्रमुख कार्यकारी यीन वेडोङ्लेले यो खोप संयुक्तराज्य अमेरिका समेत विश्वका विभिन्न मुलुकमा वितरण गरिने जनाएको छ।

यीनले आफूले व्यक्तिगत रुपमा पनि कोरोनाभ्याक लगाइसकेको जानकारी दिए।

यीनले आफू सहित अनुसन्धाताहरुले एक महिना अघि प्रायोगिक खोप लिइसकेको बताएका छन्। ‘मानव परीक्षणको पहिलो र दोस्रो चरणमा कुनै गम्भीर प्रतिकूल प्रभाव देखाएनन्, उनले भनेका छन्।

अमेरिका, युरोपेली युनियन, जापान र अष्ट्रेलियाका कडा नियमहरूका कारण विगतदेखि नै चिनियाँ खोपहरू बिक्री हुन सकेका छैनन्। तर यीन वेडोङ्को भनाईमा यस पटक चिनियाँ खोपले विश्वास जित्नेछ।

चीनमा सरकारी स्वामित्वको समेत चारवटा कम्पनीले कोरोनाभाइरस विरुद्धको खोप विकास गरिरहेका छन् जसमा सिनोभ्याक पनि एउटा हो। सरकारी स्वामित्वको सिनोफार्मले दुई किसिमका खोपमाथि परीक्षण गरिरहेको छ भने सैनिक स्वामित्वको क्यानसिनोले पनि खोप निर्माण गरिरहेको छ।

यीनले भने, कोरोनाभ्याक खोपको परीक्षणमा ब्राजिल, टर्की र इन्डोनेसियाका २४ हजार व्यक्ति सहभागी छन्। यसबाहेक बंगलादेश र सम्भवत चिलीमा पनि यस खोपको परीक्षण गरिनेछ। 

सिनोभ्याकले धेरै संक्रमित भएका, ठूलो जनसंख्या रहेका तथा अनुसन्धान र विकासको क्षमता सीमित रहेका मुलुकहरु छनोट गरेको जनाएको छ।

यो प्लान्टमा एक वर्षमा पाँच लाख खोप उत्पादन हुन सक्दछ। जैव–सुरक्षित सुविधा सहितको यस प्लान्टमा खोपको डोज साना बोतलमा भर्ने र तिनीहरूलाई बाकसमा राख्ने काम जारी छ। कम्पनीले आगामी वर्ष सन् २०२१ को फेब्रुअरी वा मार्चसम्ममा एक करोडसम्म खोप उत्पादन गर्ने लक्ष्य लिएको छ।

सिनोभ्याकले जोखिममा रहेका बच्चा र बुढाबुढीका लागि ‘कोरोनाभ्याक’ को सानो खुराक पनि परीक्षण गर्न थालेको छ।

यीनले कम्पनीले कोरोनाभ्याकको मानव परीक्षण चलाउने देशहरूमा पहिलो चरणमा खोप वितरण गर्ने बताए।

यस वर्षको सुरुमा, चीनले जोखिमयुक्त जनसंख्याका लागि खोप लगाउन अनुमति दिएको थियो जसमा एक हजारभन्दा बढी स्वास्थ्यकर्मी र सीमा रक्षकहरु सामेल थिए।

सिनोभ्याकले सिनोफर्म र क्यानसिनोसँगै गत जुनमा अनुमति प्राप्त गरेको थियो। 

सिनोभ्याकमा कार्यरत ९० प्रतिशतभन्दा बढी कर्मचारीलाई ‘कोरोनाभ्याक’ दिइएको कम्पनीले जनाएको छ।

प्रकाशित मिति: : 2020-10-21 07:50:00

प्रतिकृया दिनुहोस्