एक महिने बोनसमा पनि आएन मेलम्चीको पानी

गोरखापत्र

काठमाडाै‌

लक्ष्मण दर्नाल

काठमाडौँ, कात्तिक ५ गते । यस वर्षको दशैँ एक महिना लम्बिएर आयो । सरकारी दाबीअनुसार यतिबेला काठमाडौँ उपत्यकाका धारामा मेलम्चीको पानी झर्नुपर्ने थियो तर बोनसमा एक महिना पाउँदा पनि मेलम्चीको पानी धारामा चुहिएन । यससँगै निर्धारित समयभन्दा तीन महिनाअगावै काम सकेर बोनस खाने ठेकेदार कम्पनीको लक्ष्य पनि प्रभावित भएको छ ।
अन्ततः पानी पथान्तरणको वैकल्पिक संरचना (अस्थायी डाइभर्सन)बाट सुरुङमा पानी पठाएर २०७७ को दशैँसम्म मेलम्चीको पानी काठमाडौँमा ल्याउने खानेपानी मन्त्रालयको घोषणा घोषणामै सीमित भयो । सुरुङमा जडान गरिएको
(गेट) प्रवेशद्वारलाई पथान्तरण गरिएको पानीले भत्काएपछि यो दशैँमा पानी ल्याउन सम्भव नभएको मन्त्रालयको दाबी छ ।
अन्तिम अवस्थामा अम्बाथानको प्रवेशद्वार भत्किएपछि चारवटै प्रवेशद्वारको पुनः निर्माण गर्नु परेकाले पानी आउन ढिलाइ भएको हो । मन्त्रालयका प्रवक्ता रितेश शाक्य भन्नुहुन्छ, “अस्थायी डाइभर्सनबाट मेलम्चीको पानी ल्याउने अन्तिम तयारीमै थियौँ । परीक्षणका लागि पानी पथान्तरण गर्दा एक्कासि गेट खुल्यो, दुर्घटना भयो । त्यो नभएको भए अहिलेसम्म पानी आइसक्थ्यो । ”
अब चारैवटा प्रवेशद्वार पुनः जडान गरेपछि मात्र पानी पथान्तरण गरिने छ । शाक्यका अनुसार दुईवटा गेटको फ्रेम भारतबाट आइसकेका छन्, बाँकी दुईवटा आउँदै छन् । आएका फ्रेम जडानको काम भइरहेको छ ।

प्रकाशित मिति: : 2020-10-21 10:15:00

प्रतिकृया दिनुहोस्