दसैं मनाउन फर्किने कामदारको उपहार ‘ल्यापटप, एलइडी र स्मार्टफोन’

शिलापत्र

काठमाडाै‌

कतारबाट ३ वर्षपछि दसैं मनाउन स्वदेश फर्किंदै गरेका काभ्रेका जीवन गौतमले सोमबार अन्तराष्ट्रिय त्रिभुवन विमानस्थलमा ‘एलइडी’ टिभी र एटेजी डोहोर्‍याएर बाहिरिदै थिए । 

परिवारका सामान्य २ वटा मोबाइल र घरमा आवश्यक ३२ इन्चको टिभी साथमा लिएर आएको गौतमले बताए । ‘कतारबाट दसैं मनाउन आउँदा प्रविधिका सामान सस्तो मृल्यमा पाइने भएकाले साथमा लिएर आएको हुँ । यहाँ पनि किन्न परिहाल्छ । त्यही भएर कतारबाटै लिएर आएको हो,’ उनले भने, 'प्रविधिको सामान विदेशमा राम्रो र गुणस्तरीय पाइन्छ । फेरि नेपालभन्दा धेरै छुटमा किन्ने पाइन्छ ।’ विदेशबाट आएको भनेपछि परिवारमा उपहारको आस हुने उनको भनाइ छ ।

यस्तै, विमानस्थलबाट बाहिरिदै गरेका झापामा दीपक कार्कीले पनि साथमा परिवारका लागि मोबाइल, ब्ल्यांकेट र एउटा टिभी लिएर फर्किएका छन् । दसैं मनाउन घर फर्किदा परिवारले विदेशी उपचारको आस गर्नेगरेको दीपकले बताए ।  ‘विदेशमा नेपालमाभन्दा प्रविधिका सामान धेरै सस्तो पर्छ । त्यही दसैं मनाउन आउँदा साथ बोकेर आएको हुँ,’ उनले भने, ‘नेपालमा किन्दा एउटै मोडल भए पनि बढी मूल्य पर्छ । युएईमा विदेश नागरिकका लागि प्रविधिका सामानमा विषेश छुट दिएको हुन्छ । त्यही भएर पैसा भएका लिएर आएको हो ।’ 

यसैगरी, दक्षिण कोरियाबाट दसैंतिहार मनाउन आएका इलामकी नम्रता अधिकारीले पनि साथमा मोबाइल, ल्यापटप र एउटा टिभी बोकेर आएको बताइन् । ‘कोरियामा नेपालभन्दा धेरै कम मूल्यमा मोबाइल किन्न पाइन्छ । त्यसमाथि नेपालमा नपाइने र नयाँ मोडेलसमेत धेरै छुट मुल्यमा किन्ने पाइन्छ । नेपालमा भन्दा विदेशमा कम मूल्यमा ‘स्मार्टफोन’ किन्न पाइन्छ । कतिपय अवस्थामा त ‘स्मार्ट फोन’ खरिद गर्दा विशेष छुट पाइन्छ,’ उनले भनिन्, ‘घर फर्किदा परिवारले मगाएको अथवा आफूलाई चाहिने प्रविधिको सामान लिएर आउन चलन जस्तै छ । विदेशमा विशेष छुट पाइने हुँदा धेरै प्रविधिका सामान लिएर आउँछन् ।’

प्रकाशित मिति: : 2020-10-21 10:34:00

प्रतिकृया दिनुहोस्