विराटनगर र धरानमा चार कोरोना संक्रमितको मृत्यु

विराटनगर र धरानमा चार कोरोना भाइरस संक्रमितको मृत्यु भएको छ।

मृत्यु हुनेमा गढी गाउँपालिका ९ सुनसरी घर भएका ३८ वर्षीय पुरुष, इलाम नगरपालिका २ इलाम घर भएकी ५९ वर्षीय महिला र धरान उपमहानगरपालिका ११ सिधिंवा चोककी ५२ वर्षीया महिला र मोरङको सुन्दर हरैंचा नगरपालिकाकी पाँचमहिने बालिका छन्।

नोबेल मेडिकल कलेज प्रबन्धक नारायण दाहालका अनुसार सुनसरीका ३८ वर्षीय युवकको शनिबार बिहान करिब ४ बजे मृत्यु भएको हो। 

मृतक ३ कात्तिकमा भर्ना भएका थिए। उनलाई सोही दिन कोरोना पोजेटिभ देखिएको थियो। ती पुरुषमा निमोनियाको समस्या पनि थियो।

त्यस्तै इलामकी महिलालाई ४ कात्तिकमा भर्ना गरिएको थियो। उनलाई सोही दिन कोरोना पोजेटिभ देखिएको थियो। महिलाको शनिबार बिहान करिब ७ बजे मृत्यु भएको हो।

उनमा श्वासप्रश्वासको समस्या थियो।

बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको कोभिड अस्पतालमा उपचाररत पाँचमहिने बालिकासहित एक महिलाको पनि शुक्रबार साँझ मृत्यु भएको छ। 

प्रतिष्ठानका सहप्रवक्ता डा आशिष श्रेष्ठका अनुसार उनका अनुसार पहिल्यैदेखि उच्च रक्तचाप र मधुमेहको समस्या रहेको थियो।

धरानकी महिलालाई कात्तिक ३ गते पीसीआर जाँच गर्दा कोरोना संक्रमण पुष्टि भएको थियो। उनलाई कात्तिक ५ गते कोभिड अस्पताल भर्ना गरिएको थियो।

यता सुन्दरहरैंचाकी बालिकाको मस्तिष्कसम्बन्धी रोगको उपचार भइरहेको थियो। 

कात्तिक ५ गते विराटनगरको नोबेल अस्पतालमा पीसीआर जाँच गर्दा कोरोना संक्रमण पुष्टि भएपछि थप उपचारका बीपी प्रतिष्ठान पठाइएको थियो।
 

प्रकाशित मिति: : 2020-10-24 13:52:00

प्रतिकृया दिनुहोस्