दसैंका विविध सन्दर्भ

नेपाल लाइभ

काठमाडौँ
तस्बिर : नेपाल लाइभ

दिनेशराज शर्मा

एकथरीले दसैं सबैको चाड हो भन्छन्। अर्कोथरी यो मान्यता स्वीकार्न तयार छैनन्। यसो भन्दै गर्दा केही समय अघिको एउटा घटना सम्झिन्छु। गोरे बहादुर खपांगीले दसैंलाई बाहुन क्षेत्रीको चाड हो भनेर विरोध गरेका थिए। तर पछि उनी राजाको मन्त्रिमडलमा गए र टीका थापे।

पहिलेदेखि नै दसैं कसको चाड हो भनेर आवाजहरु उठेका छन्। अन्य जातजातिको हैन भनेर विरोध पनि भएको छ। तर, अधिकांश नेपालीले यो पर्व मानिरहेका छन्। समयअनुसार दसैं मनाउने तरिका पनि फरक हुँदै जान्छ। म यसलाई अन्यथा लिन्नँ। किनभने, संस्कृति भनेको नदी जस्तै हो, बगिरहन्छ। बग्दाबग्दै नदीले दोभानहरु बनाएको हुन्छ। माथि जुन आकारले बगेको थियो, तल पनि उही आकारले बग्छ भन्ने हुँदैन। 

त्यसकारण दसैं कसरी मान्ने भन्दा पनि दसैं किन मानियो? दसैंमा गरिने कतिपय चालचलन किन मानिन्छ? र, मेरो घरमा दसैं मान्दा के गरिन्थ्यो, के गरिन्छ भन्ने कुरा यस लेखमा चर्चा गर्नेछुः

ऐतिहासिक दृष्टिमा दसैं
दसैंलाई ऐतिहासिक दृष्टिले हेर्दा शक्तिको आराधनाको पर्व हो।  दसैंमा गरिने पूजा भनेको विजया यात्रा हो।  रामले रावणमाथि विजय गरेको हुनाले हर्षबढाइ गरिएको विजय यात्रा हो। दक्षिण भारत र श्रीलंकातिर रावण पनि पुजिन्छन्।

जनैपूर्णिमा ब्राह्मणको, दसैं क्षेत्रीयको, तिहार वैश्यको, फागू शुद्रको चाड हो भन्ने भनाइ छ। दसैं बहुसंख्यक नेपालीको चाड हो। जनैपूर्णिमा, तिहार र फागुको दाँजोमा दसैंको चर्चा इतिहासमा उति पाइँदैन।

धेरै पहिले झण्डै तीन महिनाको अन्तरमा दसैं हुन्थ्यो। बसन्त ऋतुको चैतमा, गृष्मको असारमा, शरद आश्विन शुक्लमा र  शिशिर ऋतुको पुसमा दसैं मानिन्थ्यो। बसन्त ऋतुको र शरद् ऋतुको दसैंको चलन यद्यपि छ। असार र पुसको दसैं हराइसक्यो।

प्रकाशित मिति: : 2020-10-25 09:48:00

प्रतिकृया दिनुहोस्