आकस्मिक उपचार निःशुल्क गर्ने व्यवस्था मिलाएका छाैँ: मन्त्री ढकाल

स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री भानुभक्त ढकालले आकस्मिक उपचार निःशुल्क गर्नेगरी व्यवस्था मिलाइएको जानकारी दिएका छन्।

दशैँका अवसरमा आइतबार शुभकामना दिँदै मन्त्री ढकालले  संविधानमै सुनिश्चित स्वास्थ्यको मौलिक हकको पूर्ण कार्यान्वयनका लागि सरकारले काम गरिरहेको भन्दै उक्त कुरा बताएका हुन्।

‘कुनै पनि अस्पतालको गेटभित्र प्रवेश गरेका बिरामी उपचारबिना फर्कनु नपरोस् भनेर गरीब, विपन्न र अलपत्र व्यक्तिको आकस्मिक उपचार निःशुल्क गर्नेगरी व्यवस्था मिलाइएको छ,’ उनले भने।

उनले अस्पताल नभएका ६४९ स्थानीय तहमा ५ बेडको अस्पताल स्थापना गरी सञ्चालनका लागि आवश्यक बजेट पठाइएको समेत बताएका छन्।

‘सबै सरकारी, निजी तथा समुदायबाट सञ्चालित अस्पताललाई कोभिड–१९को परीक्षण तथा उपचार र अक्सिजन, आवश्यक औषधि तथा उपकरणको अभाव हुन नदिन मन्त्रालयले ठोस योजनासहित प्रभावकारी व्यवस्था मिलाएको छ। र ५ बेडको अस्पताल स्थापना गरी सञ्चालनका लागि आवश्यक बजेट पठाइएको छ,’ उनले भनेका छन्। 

उनले जनस्वास्थ्यका मापदण्ड पूर्ण पालना गरी चाडपर्व मनाउन अपिल गरेका छन्। 

कोरोना रोगको रोकथाम तथा नियन्त्रणका लागि मास्कको उचित प्रयोग, भौतिक दूरी कायम र पटक–पटक साबुनपानीले हात धुने वा स्यानिटाइजरको प्रयोग गर्नु नै उचित उपाय भएको स्मरण गराएका छन्।

उनले कोरोना महामारीका कारण यस चाडलाई सीमितरुपमा मनाउनुपर्ने बाध्यकारी अवस्था सिर्जना भएको जनाउँदै अझै बढी ध्यान दिनुपर्ने बताए।

‘विगतमा पनि हामीले स्वास्थ्य, मित्रता  र सामाजिक शान्तिलाई ध्यान दिने तथा छिमेकीलाई प्रतिकूल नहुने गरी मनाउने गरेका हौँ,’ उनले भने, ‘यस पटक कोरोना महामारीका कारण अझै बढी ध्यान दिनुपर्ने देखिएको छ ।’

मन्त्री ढकालले महामारीविरूद्धको लडाइँमा जनस्वास्थ्यका मापदण्ड पालना गर्ने कार्यमा जनताबाट प्राप्त साथ सहयोगप्रति आभार व्यक्त गरेका छन्।

‘समृद्ध नेपाल, सुखी नेपाली’को राष्ट्रिय आकाङ्क्षा पूरा गर्न स्वस्थ्य नागरिकाको उत्पादनमा ध्यान दिँदै निरोगी नेपालका लागि काम अघि बढाइएको पनि उनले जनाए। 

प्रकाशित मिति: : 2020-10-25 12:56:00

प्रतिकृया दिनुहोस्