अचेल दसैं न चंगा भएर आउँछ, न खसी भएर

सेतोपाटी

काठमाडौँ
तस्बिर : सेतोपाटी

किरणकृष्ण श्रेष्ठ

काठमाडौंको हावामा दसैंको सुगन्ध छ। त्यो सुगन्ध हाम्रो नाकले थाहा पाउने साधारण बासनाभन्दा अलि फरक छ। छालाले स्पर्श गर्छ, मनले ग्रहण।

एकपल्ट आँखा चिम्लेर लामो सास फेर्नुस्, तपाईंको मनको अन्तरदृष्टिले त्यो बासना भेट्यो भने तपाईं काठमाडौं उपत्यकाको हुनुभयो।

यस्तै वर्णन म लेक–पहाड र तराई-मधेसमा जन्मे-हुर्केकाहरूबाट पनि सुन्छु। उनीहरूले अनुभूति गर्ने सुगन्धको विम्ब भने फरक छ। एकचोटि पहाड घुम्न जाँदा त्यतै जन्मे-हुर्केका एक मित्रले बयान गरेको सम्झन्छु, 'लेकमा फुलेको गुराँसको सुगन्धले पूरै पहाड ढाकेको छ।'

मैले निकै बेर गन्धरहित गुराँसको सुगन्ध सुँघ्न खोजेँ, तर विफल भएँ। सायद कसैले काठमाडौंमा दसैंको सुगन्धको मजा लिन नपाएजस्तै मैले पनि लेकमा गुराँसको सुगन्धको भेउ नपाएको हुन सक्छ।

तराई जाँदा त्यहीँका एक मित्रले भनेको सम्झन्छु, 'म त घर पुग्नेबित्तिकै कलबाट पानी उघाएर घटघट पिउँछु। एक बाल्टिन पानीले खलल जीउ पखाल्छु। यो पानीमा पाइने माटोको सुगन्धको स्वाद तिमीलाई के थाहा?'

तराई जाँदा पानी मैले पनि पिएँ। जीउ पनि पखालेँ। तर, मलाई सुगन्ध त पर, अलि भिन्नै महशुस भयो। सायद कसै-कसैले काठमाडौंमा दसैंको सुगन्धको मजा लिन नपाएजस्तै, मैले पनि जमिनमुनिबाट कलले तानेको पानीमा माटो र आइरनको सुगन्धको भेउ नपाएको हुन सक्छ।

मान्छेले आफ्नो ठाउँको सुगन्ध आफूले मात्र थाहा पाउँदो रहेछ, जसरी आफ्नी प्रेमिकाको शरीरको सुगन्ध सहृदयीले मात्र थाहा पाउँछ। कसैको पसिनाको दुर्गन्ध कसैलाई तृप्त पार्ने सुगन्ध भइदिन्छ।

प्रकाशित मिति: : 2020-10-25 20:20:00

प्रतिकृया दिनुहोस्