दशैंले ब्युँतायो पुस्तक बजार

हिमाल खबर

काठमाडौँ
तस्बिर : हिमालखबर

नुनुता राई
गएको वैशाख, जेठमा प्रकाशन हुनुपर्ने किताबहरु बन्दाबन्दीको कारण रोकिए। बन्दाबन्दी खुकुलो हुनासाथ ती किताबसहित दशैँमा नै प्रकाशनका लागि कुरेका लेखकका कृति पनि बजारमा आए। त्यसैले यो वर्ष दशैँमा धेरै किताब प्रकाशन भए।

महामारीमा दशैँ मनाउन धेरै आवातजावत नहुँदा किताबमा समय बिताउनेको संख्या पनि बढ्यो। कोरोनाभाइरस महामारीका कारण दाङकी सुनिता चौधरी यो वर्ष दशैँ मान्न घर गइनन्। काठमाडौँमा दशैँको समय बिताउन उनले तीन वटा पुस्तक किनिन्।

चौधरी भन्छिन् “अरु बेला जागिरमा व्यस्त भइन्छ। दशैंमा घर जाने परिवारलाई समय दिने भन्ने हुन्थ्यो। यसपालि घर नगएका कारण इच्छा भएर पनि पढ्न नपाएका किताबहरु किनेकी छु। किनेर पनि पढ्न नपाएका किताबहरु समेत पढ्न थालेकी छु।”

दशैँमा विगतभन्दा बढी पुस्तक प्रकाशन भएपछि कोरोनाको कारण लामो समय ठप्प भएको पुस्तक बजार फेरि ब्युतिएको बिक्रेताहरु बताउँछन्। अनलाइनमार्फत किताब उपलब्ध गराउँदै आएको थुप्रै डटकमले यो वर्ष दशैँमा विगतमा भन्दा बिक्री बढेको जनाएको छ। थुप्रै डटकमका सह–संस्थापक दिपेश आचार्यका अनुसार दशैंलाई लक्षित गरेर प्रकाशन भएकाबाहेक बन्दाबन्दीमा रोकिएका पनि प्रकाशन हुँदा बजारमा प्रशस्त नयाँ पुस्तक देखिएका छन्।

सामान्य समयमा पनि तुलात्मक रुपमा दशैंमा किताब बिक्री हुने र यो वर्ष पनि राम्रो बिक्री भएको उनको भनाइ छ। उनी भन्छन् “यो वर्ष पनि प्रकाशकहरुले दशैं लक्षित राम्रा राम्रा पुस्तकहरु बजारमा ल्याएका छन्। पाठकका लागि दशैँमा किन्न प्रशस्तै पुस्तक प्रकाशन भए। समग्रमा गतवर्षको तुलनामा किताबको बिक्री बढेको छ।” उनका अनुसार महामारीका कारण पारीवारिक भेटघाट कम हुनु र यात्रामा निस्कन नपाउनु जस्ता कारणले समय बिताउन किताब पढ्नेको संख्या बढेको छ।

पुस्तकहरु बिक्रेता तथा पसलहरुले आफ्नो प्रकाशनका पुस्तक उत्साहका साथ लगिरहेको भए पनि बास्तविक बिक्रीबारे दशैं तिहारपछि मात्रै थाह हुने नेपालयका किरणकृष्ण श्रेष्ठ बताउँछन्। उनी भन्छन्, “बन्दाबन्दीको कारण ठप्प भएको बजार दशैंले ब्युँताएको भने पक्कै हो। तर, विगत वर्षको तुलनामा बिक्री बढ्यो बढेन भन्ने तथ्याङ्क आएपछि मात्र थाहा हुन्छ।”
 

प्रकाशित मिति: : 2020-10-28 12:51:00

प्रतिकृया दिनुहोस्