चौरसिया हत्या प्रकरण : के अनुसन्धानमा प्रहरी चुकेकै हो ?

बाह्रखरी

काठमाडाैं

काठमाडौं । पर्साको विन्दवासिनी गाउँपालिकाको प्रसौनीभाठामा ६ कात्तिकमा नेकपाका दुई गुटबीचको झडपमा मुकेश चौरसियाको ज्यान गएपछि जिल्ला अशान्त भएको छ । हत्यारालाई कारबाहीको माग गर्दै दैनिक प्रदर्शन जारी छ ।

प्रहरीले हत्यामा संलग्‍न आरोपमा हनिफ अन्सारी र देवा सहनीलाई पक्राउ गरेको छ । प्रदेश २ प्रहरी कार्यालयका प्रमुख (डीआईजी) धीरजप्रताप सिंहका अनुसार घटनामा संलग्‍न अन्य चारजनाको खोजी जारी छ । तर नेकपाकै नेताहरुले भने प्रहरीले घटनाको अनुसन्धान निष्पक्ष नगरेको आरोप लगाउँदै आएका छन् । 

कात्तिक ६ गते गाउँपालिका कमिटीका पदाधिकारीको शपथ कार्यक्रम थियो । सोही कार्यक्रममा पूर्वसांसद एवं नेकपाका केन्द्रीय सदस्य राजकुमार गुप्ता पक्षले आफ्नो गुटलाई नबोलाएको भन्दै कार्यक्रम बिथोल्न खोजेको र सोही समूहले आक्रमण गरेको भन्दै प्रहरीमा किटानी जाहेरी दिइए पनि प्रहरीले त्यसलाई दर्ता गरेको छैन ।

डीआईजी सिंह भन्छन्, “हामीले घटनास्थलको भिडियो हेरेका छौं । जसमा ६ जनाले आक्रमण गरेको देखिन्छ । भिडियोमा आफन्तले आरोपित गरेका राजकुमार गुप्ता छैनन् । यस्तोमा घटनास्थलमा नदेखिएका व्यक्तिका नाममा कसरी उजुरी लिनु । अनुसन्धानमा क्रममा उनको नाम पोलियो भने हामी गुप्ताविरुद्ध पनि अगाडि बढिहाल्छौं ।”

डीआईजी सिंहका अनुसार प्रारम्भिक अनुसन्धानका क्रममा घटनाको दिन गुप्ता कार्यक्रमस्थलभन्दा १० किलोमिटर टाढा देखिएका छन् । आफूहरु गहन अनुसन्धानमा रहेको डीआइजी सिंहको दाबी छ ।

प्रकाशित मिति: : 2020-10-29 12:39:00

प्रतिकृया दिनुहोस्