भारत र अमेरिकाबीच नयाँ सैन्य सम्झौता : नेपाललाई समेत खतराको घण्टी !

लोकान्तर

काठमाडौँ
फाइल तस्बिर

विन्देश दहाल

भारत र अमेरिकाबीच मंगलवार भएको नयाँ सैन्य सम्झौताले नेपाल लगायतका छिमेकी मुलुकहरूलाई समेत जोखिममा पार्ने सम्भावना देखिएको छ ।

सोमवार र मंगलवार नयाँ दिल्लीमा अमेरिकाका परराष्ट्रमन्त्री माइक पोम्पेओ र रक्षामन्त्री मार्क एस्परले भारतीय समकक्षीहरू राजनाथ सिंह र एस जयशंकरसँग २ जोड २ वार्ता गरे अनि त्यसैक्रममा बेसिक एक्सचेन्ज यान्ड कोअपरेसन अग्रीमेन्ट (बेका) मा पनि हस्ताक्षर गरे ।

अमेरिकासँग भारतले गरेको यो चौथो सैन्य सम्झौता हो । यसअघि यी दुई मुलुकबीच सन् २००२ मा जनरल सेक्युरिटी अफ मिलिटरी इन्फर्मेसन अग्रीमेन्ट भएको थियो जसअन्तर्गत अमेरिकाले भारतलाई दिने सैन्य सूचनालाई सुरक्षित राख्ने सहमति बनेको थियो । 

त्यसपछि सन् २०१६ मा लजिस्टिक्स एक्सचेन्ज मेमोरेन्डम अफ अग्रीमेन्ट नामक सम्झौता भयो जसअन्तर्गत दुवै पक्षले सैन्य विमानमा तेल हाल्न (रिफ्युएलिङ) तथा सैन्य बलहरूलाई तरोताजा राख्न (रिप्लेनिशिङ) निश्चित सैन्य अड्डाहरू उपयोग गर्ने सहमति बनेको थियो ।

त्यसको दुई वर्षपछि सन् २०१८ मा कम्युनिकेसन्स यान्ड इन्फर्मेसन सेक्युरिटी मेमोरेन्डम अफ अग्रीमेन्ट नामक सम्झौता गरियो जसले १० वर्षसम्म दुई देशका सैनिकले मिलेर समान शत्रु मुलुकविरुद्ध सैन्य कारवाही गर्ने (इन्टरअपरेबिलिटी) विषयमा सहमति जनाएका थिए । 

अहिले गरिएको चौथो सम्झौता बेकाले भूस्थानिक तथा भूउपग्रहीय डेटाहरू साझा गर्ने सहमति बनाएको हो । विशेषगरी भारतको सीमामा चीन र पाकिस्तानले गर्ने सैन्य गतिविधिका विषयमा अमेरिकाले भारतलाई भूउपग्रहीय सूचना दिने सहमति बनेको हो । 

प्रकाशित मिति: : 2020-10-29 13:12:00

प्रतिकृया दिनुहोस्