फ्रान्सको चर्चमा अन्धाधुन्ध चक्कु आक्रमण, तीनजनाको मृत्यु

फ्रान्सको एक चर्चमा आक्रमणकारीले अन्धाधुन्ध चक्कु प्रहार गर्दा तीनजनाको ज्यान गएको छ।

निस शहरस्थित नोट्रे डाम बासिलिककाे चर्चमा भएकाे घटनामा दुई महिला र एक पुरुषको निधन भएको स्थानीय अधिकारीले जनाएका छन्। 

मारिएकामध्ये एक उक्त चर्चका एक कर्मचारी रहेको पनि जनाइएकाे छ। घटनाका एक पीडितको टाउको नै काटिएको छ। 

२१ वर्षका ती आक्रमणकारी प्रहरीको गोली लागेर गम्भीर अवस्थामा अस्पतालमा छन्। अनुसन्धानकाे क्रममा ती आक्रमणकारी  केही दिनअघि मात्रै ट्यूनिसियाबाट आएको खुलेकाे छ।

आक्रमणकारीसँग इटालियन रेडक्रसको कागजात रहेको जनाइएको छ। आप्रवासी पानी जहाजबाट इटालीको लाम्पेदुसामा गएको महिना पुगेपछि ती व्यक्तिले रेडक्रसको कागजात पाएका थिए।

राष्ट्रपति इम्यानुएल म्याक्रोँले घटना इस्लामिक आतंकवादी आक्रमण रहेको बताएका छन्।

सार्वजनिक स्थानमा सुरक्षा व्यवस्थाका लागि सुरक्षाकर्मीको तैनाथी बढाइएको उनले बताए। 

बिहीबार रातिदेखि लागू हुने लकडाउनका नयाँ नियमहरु जानकारी दिइरहेको बेला ‘राष्ट्रिय सभा’मा आतंकवादी हमलाको सूचना आएपछि एक मिनेट मौन धारण गरिएको छ।

चार वर्षअघि नाइस सहरमा भएको भयानक आतंकवादी हमलामा ८६ मानिसको ज्यान गएको थियो।

प्रकाशित मिति: : 2020-10-30 07:28:00

प्रतिकृया दिनुहोस्