फरुवाको लय

शिलापत्र

काठमाडौँ
सांकेतिक तस्बिर

सरिता तिवारी

दिनहरू खासै रमाइला थिएनन् । आफैँलाई खर्लप्प निल्लाजस्तो उदासी थियो तर समय यस्तो थियो, उदास हुने फुर्सद पनि थिएन । घरमा जतिबेलै कामहरू छरिइरहेका हुन्थे ।

अपार काम ! असीमित थकान ! 

भित्री मधेसको घर । क्लासिक स्वादको हप्प गर्मी । घरको उपल्लो तलो अनि टिनको छानो । छानाबाट छुटिरहेको रापिलो वाफले बनाइदिने उकुसमुकुसको बयान नगरौँ । 

भकारी, डाला र थुन्सेहरूसितै जोडिएको खाट । त्यसैमा घोप्टो सुतेर उँघ्दैउँघ्दै पुराना हिन्दी मासिक पत्रिकाहरूमा वषौँअघि छापिएका कथाहरू पढ्नु र दुर्लभतः पाउने फुर्सत काट्नु मेरो रुटिन । रुटिन पनि के भन्नु ! निर्विकल्प विकल्प । 

कहिले कता पैसा र मेसो दुवै जुर्‍यो भने पत्रिकाहरू पनि किनिन्थ्यो युवामञ्च, मधुपर्क आदि । तर, त्यो कुनै नियमित अवसर हुन पाउन्नथ्यो । बरू कतैबाट स्रोत फेला पर्दा कुनै क्रान्तिकारी किताब हात लाग्न सक्थ्यो । आगो उमार्ने, संसार बदल्न प्रेरित गर्ने किताब । आमा, युवाहरूको गीत, अग्निदीक्षा, थ्याङ्कयु मिस्टर ग्ल्याड आदि । अथवा लुटिएका दुई थुँगा फूल, चोर, देउमाईको किनारमा... ।

अज्ञात बाटो हुँदै भयानक ‘चिप’ साहित्य पनि आइमिल्थे कहिलेकाहीँ । स्वाभाविक थियो, तिनले प्रेमको अपार कौतुहल मात्रै होइन, शरीरसुख र यौनजन्य उत्सुकताको पारो चढाइदिन्थे । उत्सुकताको ढक्कन जबर्जस्ती बन्द गर्न सकियो र नै बैँस उम्लेर हुने दुर्घटना भैहाल्न पाएन । मेरा केही साथी त्यतिखेरै जोडी बाँधेर भागिसकेका थिए । न आफू उपन्यासकी नायिकाजस्ती अपूर्व रूपसी बन्ने चेष्टा गर्नु, न दिलमा कुनै ‘राजकुमार’को सपना पाल्ने आँट उम्रनु । त्यसैले जोडी टिपेर भाग्न चान्स मार्ने कुनै सम्भावना थिएन ।

एसएलसी फेल भएको वर्ष थियो त्यो ।

सारै चलाख विद्यार्थी त म थिइनँ । यदाकदा समुत्तीर्ण मात्रै भएर कक्षा उक्लिए पनि फेलै हुनुपरेको अनुभव भने विल्कुलै नौलो थियो । अब फेल त भैगएँ ! त्यो कठोर फलामे ढोका मेरो लागि खुलेन ! बिन्दास चालमा क्याम्पस जाने रहर यसपालिलाई तुहियो । स्कुलमा सरहरूले भनिहाले, म्याथ लिएर पढ्या'छु भनेर मात्र हुन्छ ? लगनशील हुनुपर्‍यो नि ! आमाको सपनामा ढुङ्गो लाग्यो । हाम्रो पढाइ र त्यसको सफलतासँग गाँसिएको आमाको भावना मैदानमा उत्रिएको योद्धाको हार र जीतको स्थितिजस्तो लाग्थ्यो । ‘फेल’ शब्दले आमालाई दिने पीडा मुटुमा शूल रोपेभन्दा कम थिएन, म बुझ्थेँ । 

प्रकाशित मिति: : 2020-10-30 16:58:00

प्रतिकृया दिनुहोस्