सम्पदा संरक्षणको लडाइँ

हिमाल खबर

काठमाडौँ
तस्बिर : बाह्रखरी

‘सम्पदा लडाइँ’ सम्पदा संरक्षणका लागि भएका लडाइँहरूको दस्ताबेज हो । विभिन्‍न व्यक्ति, निकाय तथा संस्थाहरूको स्वार्थका कारण सम्पदा मासिँदै र मिचिँदै गएकामा चिन्ता र दुःख व्यक्त गर्दै सम्पदा संरक्षणका लागि गरिएका प्रयासहरूको इतिवृतान्त सम्पदा लडाइँमा पाइन्छ । सम्पदा बनाउन र बचाउन उपत्यकाका नेवार समुदायले गर्दै आएको मिहिनेतको पनि पुस्तकभित्र खुलेर प्रशंसा गरिएको छ । 

सम्पदा मिचेर र मासेर व्यक्तिगत सम्पत्ति बनाउन-बढाउन उद्यत माफियाविरुद्ध लेखक खुलेरै लागेका छन् । उनको यो साहस र निर्भिकता तारिफयोग्य छ । देशमा पर्यटन प्रवर्द्धनको कुरा गर्दा सधैँ यहाँका प्राकृतिक, ऐतिहासिक र पुरातात्त्विक सम्पदाहरूको नाउँ लिने गरिन्छ । तिनै सम्पदालाई आकर्षणको केन्द्रविन्दु बनाएर पर्यटन प्रवर्द्धनका योजना, नीति तथा कार्यक्रमहरू बनाइन्छन् । तर तिनै सम्पदा संरक्षणका लागि सिन्को नभाँच्ने प्रवृत्ति उदेकलाग्दो छ । 

यही समुदाय, यही समाज र यही देशभित्र सम्पदा संरक्षणका लागि अहोरात्र खट्ने नायकहरू छन् । त्यही सम्पदा मिचेर र मासेर आफ्नो निहित स्वार्थ पूरा गर्न खोज्ने माफियाहरू पनि छन् र सम्पदा संरक्षणका अभियन्तालाई दुःख दिएर तिनै माफियालाई सघाउने खलनायक-शासकहरू पनि छन् । माफिया र खलनायकप्रति घृणा र नायकहरूप्रति सम्मान व्यक्त गर्नु यो पुस्तकको उद्देश्य हो भन्दा अतिशयोक्ति नहोला । 

प्रकाशित मिति: : 2020-10-31 08:37:00

प्रतिकृया दिनुहोस्