संक्रमित भएर आइसोलेसन सेन्टर पुगिन्, सेन्टरमै योग सिकाएर उर्जा भरिदिइन्

हिमाल खबर

काठमाडौँ
तस्बिर : हिमाल खबर

लक्ष्मी बस्नेत 
अब बटरफ्लाइ गरौं, 
खुट्टाको पैताला जोडेर बस्ने, 
चरा उडेको बेला पखेटा हल्लाए जस्तै हात हल्लाउने
दंग परेर हाँस्दिनुहोला 
हा हा हा हा गर्दै खुशीका साथ हाँस्नुस्, मुख आँ गरेर
अझ मुख आँ आँ गर्दै........!

यसो भन्नु काठमाडौंकी मनिषा श्रेष्ठको आइसोलेसन बस्दाको दैनिकी हो। पेशाले योग प्रशिक्षक हुन् उनी। २५ असोजमा दम्पतिलाई नै कोरोना संक्रमण भएपछि कीर्तिपुरस्थित राष्ट्रिय आयुर्वेद अनुसन्धान केन्द्रको आइसोलेसन सेन्टरमा गए। होटेलमा बस्ने सोचेकी उनलाई एकजना साथीले भनेपछि दुवै जना त्यहाँ गए। शुरूमा १०० जनाभन्दा बढी मान्छे देखेपछि व्यवस्थापन राम्रो नहोला भनेर मनिषाले होटेल खोज्ने सोंच बनाइन्। तर, एकरातको बसाइ, त्यहाँको खुला र फराकिलो ठाउँका कारण होटेल जाने सोंच त्यागिन्। दुवै जना त्यहीँ आइसोलेसनमै १४ दिन बिताउने निर्णयमा पुगे।

मनिषा भन्छिन्, “होटेलमा एउटा कोठामा कोचिनुभन्दा फराकिलो र खुला ठाउँ पनि रहेछ, व्यवस्थापन र सरसफाइ पनि गुनासो गर्ने खालको नभएको अरुबाट पनि बुझेपछि त्यहीँ बस्यौं।” 

आइसोलेसन सेन्टर गएपछिका तीन दिन श्रीमानलाई हल्का ज्वरो आयो, विस्तारै अक्सिजन कम हुँदै गयो। सेन्टरका स्वास्थ्यकर्मी र चिनेका डाक्टरहरूसँग सल्लाह गर्दा अस्पताल लैजान सुझाए। तर, श्रीमान् मानेनन्। 

“एउटा, अस्पतालमा बेड नपाउने समस्या र अर्को हेरविचार गर्ने आफन्त कोही हुँदैन भनेर उहाँ अस्पताल जान मान्नुभएन”, मनिषा भन्छिन्, “त्यसपछि विस्तारै योग अभ्यास गराउन थालेँ। तीन दिनपछि अक्सिजनको मात्रा पनि सामान्य भयो र ज्वरो पनि हट्यो।”

सँधै योग गर्ने उनले श्रीमानलाई पनि योग गराइन्, छतमा दुई जना मात्रै बिहानको ब्रेकफास्टपछि योग गर्थे। 

विस्तारै अन्यले पनि चासो राख्न थाले। र, अरुका लागि पनि योग फाइदा हुन्छ भनेर उनले इच्छा भए आफूले गराउने भनिन्। विस्तारै उनीसँग योग गर्न चाहनेहरू बढ्दै गए। तर, १४ दिन पुगेपछि जाने र नयाँ आउनेहरू थपिने क्रम पनि भयो। त्यसलाई मिलाएर उनले योग अभ्यासलाई निरन्तरता दिइन्। 
 

प्रकाशित मिति: : 2020-11-01 08:31:00

प्रतिकृया दिनुहोस्