धोनीले आइपीएलबाट सन्यास नलिने

अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्यास लिइसकेका चेन्नई सुपर किङ्सका कप्तान महेन्द्र सिंह धोनीले आइपीएलबाट तत्काल सन्यास नलिने बताएका छन्। 

उनले यो सिजनदेखि आइपीएलबाट पनि सन्यास लिने हल्ला चलेको थियो। तर, आइतबार उनले यी सबै अड्कलबाजीलाई समाप्त गर्दै तत्काल सन्यास लिने कुनै मन नबनाएको बताएका छन्। 

पञ्जाबविरूद्ध टस गर्न आएका धोनीले कमेन्टेटर ड्यानी मोरिसनको प्रश्नमा भने, ‘अहिले नै सन्यास लिने मेरो कुनै सोच छैन।’

यसपालि खेलको बीचमा धोनीले विपक्षी टोलीका केही खेलाडीलाई अटोग्राफका साथै केही उपहार दिएको देखेर सोसल मिडियामा उनका समर्थकहरूले सन्यास लिन लागेको अड्कल लगाएका थिए। 

धोनीले यसै वर्ष १५ अगस्टको दिन इन्स्टाग्रामबाट अन्तर्राष्ट्रिय क्रिकेटलाई बाईबाई गरेका थिए। उनले अन्तिम एकदिवसीयको रूपमा गत वर्ष इंग्ल्याण्डमा विश्व कपको सेमिफाइनल न्युजिल्याण्डविरूद्ध खेलेका थिए। 

चेन्नई पहिलो पल्ट प्ले–अफबाट बाहिरिएको छ। उसको सिजनको आठौं पराजय थियो। यसले पाँच खेलमा मात्र जित निकालेको थियो। अंक तालिकामा ऊ सबैभन्दा तल छ। चेन्नई २०१०, २०११ र २०१८ गरि तीन पल्ट आइपीएलको विजेता हो। ऊ २००८, २०१२, २०१३, २०१५ र २०१९ गरि पाँच पल्ट उप–विजेता बनिसकेको छ। 

धोनीले यसपालि खासै राम्रो प्रदर्शन गर्न सकेनन्। उनले १४ खेलमा २५ को औसतले २ सय रन मात्र बनाएका छन्।

प्रकाशित मिति: : 2020-11-02 06:46:00

प्रतिकृया दिनुहोस्