प्रधानमन्त्रीले ‘पाता कसिदिन्छु’ भनेको रतुवा खोलामा अझै भाटे पुलकै भर ! (तस्बिरसहित)

बाह्रखरी

विराटनगर
तस्बिर : बाह्रखरी

कुमार लुइँटेल

प्रधानमन्त्री केपी शर्मा ओलीको गृह जिल्ला झापा हो । ओलीको गृहनगर भएरै बग्छ रतुवा खोला पनि । मास्तिर चुरे क्षेत्रबाट समथर फाँटमा झर्ने क्रममा रतुवा खुब उर्लन्छ । यो खोलामा बाँध बाँध्‍ने र बाढी नियन्त्रण गर्ने विषयलाई लिएर हिजोआज पनि झापामा प्रधानमन्त्री ओलीले गरेको एउटा भाषणको चर्चा हुने गर्छ । यसलाई उखान टुक्काकै शैलीमा जनताले टिप्पणी गर्ने गर्छन् ।

बर्सेनि रतुवाको बाढीले झापा र मोरङमा धेरै धनजनको क्षति हुने गर्छ । खेत कटान गर्छ । बाली बगाउँछ । यही मेसोमा प्रतिनिधिसभा चुनावताका ओलीले “अब म जितेर गएपछि रतुवाको पाता कसिदिन्छु” भन्दै चुनावीसभामा भाषण गरेका थिए । खासमा बाँध बाँधेर बाढीको समस्या समाधान गर्ने मनसायले यसरी भाषण गरे पनि चुनाव जितेर गएका ओली निर्वाचन क्षेत्र फर्किएनन् । विकासमा ध्यान दिएनन् । अर्को चुनावमा जनताले ओलीलाई हराइदिए । उनको साटो तत्कालीन माओवादीका उमेदवारलाई जनताले चुनावी मत दिए । अहिले पनि जनताले टिप्पणी गर्दै भन्ने गर्छन् ‘प्रधानमन्त्री ओलीले पाता कसिदिन्छु भनेको रतुवाले हाम्रै पो पाता कसिरहेको छ ।’

ओली फेरि दमक क्षेत्रबाट चुनाव जितेर गए । अहिले प्रधानमन्त्री बनेका छन् तर उनको गृहजिल्ला र गृहनगरनजिकैको एक पालिकालाई प्रदेश राजधानी विराटनगरसँग जोड्ने हुलाकी मार्गमा रतुवा खोलाको बिजोगले भने गिज्याइरहेको छ । “रतुवा खोलाको पाता अझै कसिएको” छैन बरु सर्वसाधारण पक्की पुल मुन्तिर बाँसको पुल बनाएर जोखिमपूर्ण तरिकाले आउजाउन गर्न बाध्य छन् । लड्दैपड्दै र शुल्क बुझाएर गौरीगन्जबाट रतुवाईमाईतर्फ आउनु सर्वसाधारणको नियतिजस्तै बनेको छ ।

प्रकाशित मिति: : 2020-11-02 08:56:00

प्रतिकृया दिनुहोस्