ट्याङ्की रित्तै, कसरी धुने हात ?

गोरखापत्र

काठमाडौँ
तस्बिर : गोरखापत्र

शिवा तामाङ

 कोरोना महामारीबाट बच्न ठाउँ ठाउँमा हात धुन भनेर पानी ट्याङ्की राखिए, धारा पनि जडान गरिए र तस्बिर पनि खिचिए । अनि खानेपानी मन्त्रालयले विश्व हात धुने दिवस मनाउन अपिल गर्दै एकमहिने अभियानसमेत सुरु ग¥यो । अभियान सकियो तर समस्या भने जस्ताको तस्तै छ ।
हात धुन राखिएका पानी ट्याङ्कीमा पानी छ कि छैन भनेर न कसैले चासो राख्यो न त अभियानकर्ताले सार्वजनिक क्षेत्रमा राखिएका पानी ट्याङ्कीमा हात धुने प्रयास नै गरे । सायद हात धुन कोही आएको भए आज राजधानीका मुख्य भागमा राखिएका पानी ट्याङ्की रित्तै हुने थिएनन् र बेसिनमा फोहोर जम्मा हुने थिएन ।
नयाँ सडकस्थित नेपाल वायुसेवा निगमको गेटसँगै बस, माइक्रो रोकिने स्थानमा पाँच हजार लिटरको पानी ट्याङ्की धाराविहीन र उपयोगविहीन अवस्थामा छ । माछापुच्छे« बैङ्क लिमिटेडको सहयोगमा महानगरीय प्रहरी
कार्यालय रानीपोखरीले राखेको सो ट्याङ्की कहिल्यै उपयोगमा नआएको जानकारी छेउमै व्यापार गर्नुहुने दुर्गा खवास दिनुहुन्छ । खवास भन्नुहुन्छ, “महामारीबाट बच्न साबुनपानीले हात धुनु भन्छन् तर ट्याङ्की राखेदेखि नै पानी छैन । तीनवटा धारा, सडकपट्टि ढल निकासमा पानी झर्ने गरी राखेका थिए, ती टुटी पनि छैनन् अहिले, कताको पानी, कताको साबुन । टुटी उखेलिएका धारामा केले हात धुनु र ? उल्टै यत्रो ट्याङ्कीको बिजोग देख्नुपरेको छ ।”
खुलामञ्च सँगैको अस्थायी बसपार्क, जहाँ हरेक दिन विपन्नलाई दानवीर तथा मनकारीले खानासमेत खुवाउँछन् । खाना खुवाउने ठाउँमै दुई सय लिटरको कालो ट्याङ्की छ । त्यो ट्याङ्की पनि पानीविहीन छ ।

प्रकाशित मिति: : 2020-11-03 08:16:00

प्रतिकृया दिनुहोस्