जसले नेपालमा चाउचाउ चिनाए

आयोमेल

पोखरा
तस्बिर : आयोमेल

अनुप पाैडेल 

दक्षिण एसियामा चाउचाउ उद्योग थिएन। लाहुरेहरू घर फर्किंदा कोसेली ल्याउँथे। हङकङ, सिंगापुरका लाहुरेबाहेक अरूकहाँ सायदै पुग्थ्यो तयारी चाउचाउ। सानै उमेरदेखि निर्माण व्यवसायमा लागेका पोखराका सूर्यबहादुर केसी चाउचाउ खुब रुचाउँथे। 

उनै केसीसहित तीन साथी मिलेर २०३९ सालमा गण्डकी नुडल्स खोले। पार्टनर कृष्ण आचार्य र फणिन्द्रमान श्रेष्ठ थिए। उद्योगले ‘रारा’ तयारी चाउचाउ उत्पादन थाल्यो। समयसँगै कृष्ण र फणिन्द्रमान छुट्टिए। अरू सेयर सदस्यले पनि साथ छोड्दै गए।

२०५८ सालसम्म आउँदा कम्पनीको सम्पूर्ण स्वामित्व सूर्यबहादुरले लिए। गण्डकी नुडल्स, एभरेस्ट नुडल्स हुँदै हिमश्री फुड्स प्रालि सूर्यबहादुरले एक्लो बनाए। चर्चित ब्रान्ड रारा चाउचाउ आउँदो माघ २३ गते ३८ वर्ष पुग्दैछ। तर, दक्षिण एसियामा पहिलोपटक चाउचाउ उत्पादन गर्ने सूर्यबहादुरले त्यो खुसी साट्न पाउने छैनन्। 

उच्च रक्तचापबाट ग्रसित उनै केसी सोमबार धर्तीबाट बिदा भए। उद्योगीमात्रै होइन, उनी निर्माण व्यवसायी, राजनीतिकर्मी, समाजसेवी पनि हुन्। 

लामो समय राप्रपाको राजनीतिमा सक्रिय उनी गत निर्वाचनताका नेपाली कांग्रेस प्रवेश गरेका थिए। कांग्रेसले उनलाई समानुपातिक कोटाबाट प्रतिनिधिसभा लगेको थियो। मिर्गाैला प्रत्यारोपण गरेका उनी संसद बैठकमा कमै जान्थे। 

केसी राजनीतिकर्मीभन्दा पनि उद्योगी र समाजसेवीका रूपमा बढी परिचित थिए। चाउचाउ उद्योगमात्रै नभई टाक्स हाइड्रोपावर, भगवती हाइड्रोपावर, सिभिल हाइड्रोपावर, गण्डकी हाइड्रोपावर, मडक्यु (सिक्लेस) हाइड्रोपावर, युनाइटेड इदीमर्दी हाइड्रोपावर र अपर सेती हाइड्रोपावर प्रालिमा उनको लगानी छ।  

प्रकाशित मिति: : 2020-11-03 19:53:00

प्रतिकृया दिनुहोस्