दुई गाडीले पुगेन प्रदेश सभामुखलाई, 'बजार जान र पाहुना ओसार्न' १ करोडमा किनियो नयाँ गाडी !

लोकान्तर

काठमाडाैं

लुम्बिनी प्रदेशका सभामुख पूर्णबहादुर घर्तीले ३ वटा गाडी प्रयोग गरिरहेका छन् ।

‘फोर्ड’ र ‘टाटा’का गरी दुईवटा गाडी प्रयोग गरिरहेका घर्तीलाई महामारीका बीच राज्यकोषबाट फेरि एक करोड रुपैयाँमा ‘स्कोडा’को महंगो गाडी भित्र्याइएको छ । 

बा१झ ९७२९ नम्बरको फोर्ड र बा१झ २२८४ नम्बर टाटाको गाडी चढ्दै आइरहेका घर्तीलाई हालसालै प्रदेश ३–०१–००२ झ ५२४४ नम्बरको ‘लक्जरियस’ स्कोडा गाडी ९९ लाख ९९ हजार ९ सय ९९ रुपैयाँमा खरिद गरिएको छ ।
अनाश्यक खर्च कटौती र मितव्ययी नीति अगाल्ने प्रदेश सरकारको नीति नारामै सीमित भएको छ ।

सशस्त्र द्वन्द्वमा जनताका पक्षमा गीत गुञ्जाउने कम्युनिस्ट नेतृत्वबाट आएका सभामुख घर्तीको गाडी मोह देखेर सांसददेखि कर्मचारी समेत चकित परेका छन् । 

प्रदेश सभा सचिवालयका सूचना अधिकारी दिनेश अधिकारीले सभामुख घर्ती मातहत तीनवटा गाडी रहेको बताए । 

अधिकारीले भने, ‘तीनवटै गाडी चालू अवस्थामा छन् । कुनै पनि बिग्रिएका छैनन् । केही समय अगाडि नयाँ गाडी सभामुखका लागि भनेर सचिवालयले खरिद गरेको हो ।’ देशको अर्थतन्त्र जति नै कमजोर भए पनि जनप्रतिनिधिमा अनावश्यक महंगा गाडी चढ्ने मोह भने बढ्दो छ । 

चालू अवस्थामा दुईवटा गाडी रहेको अवस्थामा फेरि राज्यको ठूलो रकम खर्च गरी महंगो गाडी किन खरिद गनुपर्‍यो भन्ने प्रश्नमा प्रदेश सभा सचिवालय जवाफ दिन चाहँदैन ।

प्रकाशित मिति: : 2020-11-04 14:52:00

प्रतिकृया दिनुहोस्