डब्ल्यूएचओको रिपोर्ट– युवाहरूमा कोरोना संक्रमण बढ्न थाल्यो

कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या विश्वव्यापी रूपमा ४ करोड ६० लाख नाघेको छ भने १२ लाख मानिसको निधन भएको छ। 

विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ) ले जनाएअनुसार पछिल्लो समय युवाहरूमा कोरोना संक्रमण बढ्दै गइरहेको छ। डब्ल्यूएचओले पहिलेदेखि नै युरोपेली राष्ट्रका नेताहरूलाई चेतावनी दिँदै आएको थियो। 

तर, उसको कुरामा खासै ध्यान नदिँदा युरोपमा दोस्रो हुँदै तेस्रो चरणको संक्रमण देखिएको छ। डब्ल्यूएचओका अनुसार १५ देखि २४ वर्ष समूहका युवायुवतीमा कोरोना संक्रमण ४ प्रतिशतबाट बढेर १४ प्रतिशत पुगेको छ।
 
यस्तै, २५–६४ वर्ष समूहमा कोरोना संक्रमितको संख्या ५० बाट बढेर ६५ प्रतिशत पुगेको छ। तर, ६५ भन्दामाथि उमेर समूहमा कोरोना संक्रमितको संख्या घटेको छ। पहिले ४० प्रतिशत पुगेको यो संख्या १५ प्रतिशतमा झरेको छ। 

अमेरिकामा मात्र हाल कोरोनाबाट ९६ लाख मानिस संक्रमित भइसकेका छन्। यहाँ २ लाख ३८ हजार मानिसको निधन भइसकेको छ। अमेरिका कोरोनाबाट सबैभन्दा प्रभावित देश हो।

प्रकाशित मिति: : 2020-11-04 17:05:00

प्रतिकृया दिनुहोस्