पाँडे र पौडेललाई भैरव पुरस्कार

नेपाली हाँस्यव्यङ्ग्य साहित्यका शिखर पुरुष भैरव अर्यालको स्मृतिमा स्थापित भैरव पुरस्कार र भैरव प्रतिभा पुरस्कार वर्ष २०७६–७७ का लागि क्रमशः राम कुमार पाँडे र राजाराम पौडेललाई प्रदान गरिने भएको छ। 

पाँडे चर्चित व्यङ्ग्यकार हुन भने पौडेल हाँस्य कलाकारिता क्षेत्रमा स्थापित नाम हो। भैरव पुरस्कार र भैरव प्रतिभा पुरस्कारको राशि क्रमश-एक लाख र पचास हजार रुपैया रहेको छ।

वरिष्ठ साहित्यकार विजय चालिसे संयोजक तथा वरिष्ठ समालोचक प्राध्यापक डाक्टर खगेन्द्र लुइँटेल र व्यङ्ग्यकार लक्ष्मण गाम्नागे सदस्य रहेको चयन समितिको आधारलाई अनुमोदन गर्दै भैरव पुरस्कार गुठीले पाँडे र पौडेललाई पुरस्कृत गर्ने निर्णय गरेको हो। 

हाल कोभिड–१९ को संक्रमण रहेकाले उपयुक्त अवस्था हेरेर पुरस्कार वितरण कार्यक्रम आयोजना गरिने गुठीका सचिव वसन्त रिजालले जानकारी दिए। 

२०४६ साल देखि प्रत्येक २–२ वर्षमा यी पुरस्कार प्रदान गरिँदै आएकोमा अब आगामी वर्षबाट वर्षेनी वितरण गरिने पनि रिजालले बताए।

प्रकाशित मिति: : 2020-11-05 08:40:00

प्रतिकृया दिनुहोस्