डा. भोजराज : जो चितवनमा कोरोनासँग निर्धक्क लडिरहेछन्

आयोमेल

काठमाडौँ
फाइल तस्बिर

वसन्त ढुङ्गाना

सन् २०२० सुरुवातसँगै चीनको वुहानमा कोरोना भाइरस फैलिदैँ गर्दा सारा विश्व त्रसित भइरहेको थियो। 

तर, हाम्रा मन्त्रीहरू भन्दैथिए– ‘नेपाल कोरोनामुक्त देश।’

चिकित्सक, विज्ञहरू भने बेलैमा सचेतना र रोकथामका उपाय अपनाउन घचघच्याइहेका थिए। तीमध्येका एक थिए, डा. भोजराज अधिकारी।

भरतपुर अस्पताल विकास समितिका अध्यक्ष र नेपाल स्वास्थ्य अनुसन्धान परिषदका उपाध्यक्ष रहेका उनले चितवनमा कोरोना उपचारका लागि सह्रानीय भूमिका खेले। कोरोना संक्रमितको उपचार गर्दागर्दै उनी नै संक्रमणको चपेटामा परे।

चितवनमा कोरोना संक्रमणका घटना फाटफुट सार्वजनिक हुन थालेका थिए। अधिकारीले कोरोना परीक्षण र उपचारका लागि छुट्टै अस्पतालको वकालत गरे। र, प्रबन्ध गर्न लागे। भरतपुरमा कोरोना डेडिकेटेड अस्पताल पनि बन्यो।

यो अभ्यासको सिको अन्य प्रदेशले पनि गरे।

‘मैले फागुन–चैतमा दिएका अन्तर्वार्ता हेर्नुहुन्छ भने डा. शेरबहादुर पुन र ममात्र बोलेका छौं। यो विषयमा अरू बोलेका छैनन्।

‘कसैले कोरोनालाई सामाजिक मुद्दा बनाएनन्,’ उनले भने, ‘हामीले सचेतना अपनाउन आह्वान गर्दागर्दै महामारीको रूपमा फैलिएको छ।’

उनी कोरोना नियन्त्रणमा लाग्दाका सुरुवाती दिन धेरै अस्पताल प्रशासन र चिकित्सकसमेत अन्योलमा थिए। गत चैत ४ मा पुष्पाञ्जली अस्पतालमा कोरोनाको जस्तै लक्षण भएका एकजनाको मृत्यु भयो। त्यो घटनाले अधिकारीलाई झस्कायो। त्यतिबेला सातजना आइसियुमा थिए।

उनले सम्झे, ‘मेरा लागि यो कोरोना नै हो, यस्ता मान्छे अस्पतालमा सिकिस्त भएर आयो भने कुन अस्पतालमा राख्छन् त?’

उनी त्यही दिनदेखि कोरोनाका बिरामीलाई राख्ने छुट्टै ठाउँ खोजीमा जुटे। ५ गते नै उनले भरतपुर महानगरपालिकाकी मेयर रेणु दाहाललाई प्रस्ताव राखे। र, चैत ७ गते नै कोभिड अस्पताल बन्यो।

यसले राष्ट्रिय स्तरमा समेत नयाँ सन्देश दियो।

अहिले उनी भरतपुर महानगरपालिकाका स्वास्थ्यविज्ञ समेत हुन्।

महामारीमा थपिएको जिम्मेवारी

कोरोना महामारी उकालो लाग्दै गर्दा चैत १८ मा उनले भरतपुर अस्पतालको अध्यक्षको जिम्मेवारी पाए। उनी यो अस्पतालको अध्यक्ष बन्ने पहिलो डाक्टर हुन्।

त्यो आधारमा पनि अस्पतालको व्यवस्थापनमा उनको नियुक्तिले आसा बढायो।

प्रकाशित मिति: : 2020-11-05 12:30:00

प्रतिकृया दिनुहोस्