देशको नाम ‘नेपाल’ अगाडि विशेषण जोड्न आवश्यक छैन: कमल थापा

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष कमल थापाले देशको नाम ‘नेपाल’अगाडि विशेषण जोड्न आवश्यक नभएको बताएका छन्।

शुक्रबार अध्यक्ष थापाले सामाजिक सञ्जाल ट्वीटरमा प्राचिनकालदेखि देशको नाम ‘नेपाल’ रहेकाले विशेषण जोड्न आवश्यक नरहेको बताएका हुन्।

उनले भनेका छन्, ‘संघियता र गणतन्त्रको विपक्षमा रहेको कारणले भनेको होईन, प्राचिनकालदेखि हाम्रो देशको नाम ‘नेपाल’ हो। नामको अगाडि बिशेषण जोड्नु आवश्यक थिएन। सरकारको निर्णय ठीक छ।’  

आज मात्रै जनता समाजवादी पार्टी (जसपा) नेपालका सङ्घीय परिषद्का अध्यक्ष डा. बाबुराम भट्टराईले सरकारले मन्त्रिपरिषद्बाट देशको नाम ‘सङ्घीय लोकतान्तिक गणतन्त्र नेपाल’ नलेख्ने निर्णय गरेकोमा आपत्ति जनाएका थिए।  

त्यसकाे उत्तर दिँदा उनले भनेका छन्– ‘नाम अगाडी रहेका विशेषण हटाउँदा षडयन्त्र भएको ठान्नेहरूको मनस्थितिबाट प्रष्ट हुन्छ, ती मान्यता कति कमजोर धरातलमा खडा गरिएको रहेछ।’ 

गत असोज ११ गते बसेको मन्त्रिपरिषद बैठकले संघीय लोकतान्त्रिक गणतन्त्र नेपाल नलेख्ने निर्णय भएको थियो।

सोही निर्णय कार्यान्वयन गर्न भन्दै असोज २८ गते कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालयले मातहतका कार्यालयलाई पत्राचार गर्दै नेपालीमा ‘संघीय लोकतान्त्रिक गणतन्त्र, नेपाल’ र अंग्रेजीमा ‘फेडरल डेमोक्रेटिक रिपब्लिक अफ नेपाल’ लेख्ने गरिएकोमा अबदेखि नेपालीमा ‘नेपाल’ र अंग्रेजीमा ‘एनइपीएएल’ लेख्न भनेको छ।

तर संसदको राज्य व्यवस्था तथा सुशासन समितिले ‘संघीय लोकतान्त्रिक गणतन्त्र नेपाल’ नलेख्ने निर्णयबारे छलफल गर्न सरकारलाई बोलाएको छ।

सभापति शशी श्रेष्ठका अनुसार समितिको बैठक आगामी आइतबार दिउँसो १ बजे बस्नेछ। 

उक्त बैठकमा ‘संघीय गणतन्त्र नेपाल’ नलेख्ने सरकारको निर्णयका विषयमा छलफल हुनेछ। बैठकमा निमित्त सचिव खगराज बराललाई बोलाइएको छ।

प्रकाशित मिति: : 2020-11-06 13:15:00

प्रतिकृया दिनुहोस्