कमजोर जगमा सुरू भएको पार्टी होइन, कुनै एक व्यक्तिले चाहँदैमा फुट्न सक्दैन: माधव नेपाल

नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का वरिष्ठ नेता माधवकुमार नेपालले  कसैले पार्टी विभाजन गर्न नसक्ने बताएका छन्।

धुम्बाराहीमा शुक्रबार भएको अनौपचारिक बैठकपछि बोल्दै उनले नेकपालाई कसैले फुटाउन नसक्ने दाबी गरेका हुन्।

‘यो कमजोर जगमा सुरू भएको पार्टी होइन’, उनले भने,‘सबैले अत्यन्त ठूलो त्याग र बलिदान गरेर यो पार्टी निर्माण गरिएको हो। कुनै एक व्यक्तिले चाहँदैमा पार्टी फुट्न सक्दैन।’

नेकपा भित्र विवाद चर्चिरहेको बेला कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफू पक्षधर सचिवालयका सदस्यहरुलाई पार्टी कार्यालय धुम्बाराहीमा डाकेका थिए।

बैठकमा प्रचण्ड, वरिष्ठ नेताहद्वय झलनाथ खनाल र माधवकुमार नेपाल, उपाध्यक्ष वामदेव गौतम, तथा पार्टी प्रवक्ता नारायणकाजी श्रेष्ठ उपस्थित रहेका थिए।  

ओलीसहित महासचिव विष्णु पौडेल, सदस्य रामबहादुर थापा र ईश्वर पोख्रेल भने बैठकमा उपस्थित भएनन्।

 बिहीबार प्रधानमन्त्री एवम् नेकपा अध्यक्ष केपी शर्मा ओलीसँग बालुवाटार पुगेर छलफल गरेका प्रचण्डलाई ओलीले ‘गुटबन्दीपूर्ण बैठक’ नगर्न र ‘पार्टी एकताको पक्षमा काम गर्न’ निर्देशन दिएर पठाएका थिए।

कार्यकारी अध्यक्ष प्रचण्ड प्रधानमन्त्री ओलीले बुधबार एक सार्वजनिक कार्यक्रममा ‘आफूलाई पार्टीभित्रबाट राजीनामा मागिएको’ बताउँदै ‘आफूले राजीनामा नदिने’ बताएको र प्रदेश १ का आफू पक्षधर नेताहरुसँग ‘भर्चुअल मिटिङ’ गरेकोबारे आपत्ति जनाउन भनी बालुवाटार पुगेका थिए। 

प्रकाशित मिति: : 2020-11-06 19:58:00

प्रतिकृया दिनुहोस्