रास्वपाले हार्दा पनि ‘हर्क’लाई नै दाेष!

इलाम–२ काे मत परिणामले झस्कियाे रास्वपा

Breaknlinks
Breaknlinks

वनस्थलीस्थित राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को केन्द्रीय कार्यालय ‘घन्टीघर’ आइतबार दिउँसोदेखि शान्त छ। इलाम–२ को उपनिर्वाचन र त्यहाँको चर्चा, आलोचना र टिप्पणी सुन्दा–हेर्दा नेताहरू चिन्तित देखिन्छन्।

उनीहरूले ‘मिसन–८४’ मा गम्भीर धक्का लाग्नसक्ने अनुमान गरेका छन्। मतदानअघि ‘राजाको छोरा राजा हुन सक्दैन’ भन्दै एमाले उम्मेदवार सुहाङ नेम्वाङको चर्को विरोध गरेका नेताहरू ‘घन्टी’ले पाएको मतबाट सन्तुष्ट छैनन्।

‘सोचेजस्तो मत परिणम नआए’पछि रास्वपा पार्टीका पदाधिकारी तथा नेताहरूले पूरै मत गनेर नसक्दै हार स्विकारेका छन्। सुहाङले १३ हजार मत कटाउँदा रास्वपाका उम्मेदवार मिलन लिम्बूले धौ–धौ १ हजार मत कटाएका छन्।

सुहाङपछि दोस्रो स्थानमा नेपाली कांग्रेसका उम्मेदवार डम्बर खड्का र तेस्रोमा पहिचानवादी समूहका स्वतन्त्र उम्मेवार डकेन्द्रसिंह थेगिम छन्। तर, सामाजिक सञ्जालमा असाध्यै प्रचार र चर्चा बटुलेका रास्वपा उम्मेदवार मिलन लिम्बु भने पुछारमै अल्झिएका छन्।

‘फेसबुक र एक्सका जनताको मन जिते पनि, इलामेली जनताको मन जित्न सकेनौँ,’ ठट्यौँली शैलीमा मेरो नाम नलेख्दिनु है भन्दै रास्वपाका एक केन्द्रीय सदस्यले भने, ‘योपालि इलामको उपचुनाव हारियो, अर्को पटकचाहिँ पक्का जित्छौँ। हाहाहा।’

रास्वपाले इलाम–२ को उपनिर्वाचनलाई प्रतिष्ठाका रुपमा लिएको थियो। ‘मिसन–४’को चुनावी जोसलाई इलामेली जनताबाट अनुमोदन हुने अपेक्षा गरेको थियो। तर, पार्टीका सहमहामन्त्री कविन्द्र बुर्लाकोटी महिनौँ लामो खटाइ, संघीय मन्त्री, सांसदहरूको ताँती र सस्तो प्रचार खेर गएको रास्वपाकै नेताहरू बताउँछन्।

‘अहिले नै धेरै नबोलौँ होला! पूरा मत परिणम आइसकेको पनि छैन। अर्को कुराचाहिँ यो चुनावको हाम्रो पार्टीमा गम्भीर समीक्षा पनि हुन्छ। तर धेरै हदसम्म निरास बनाएको चाहिँ पक्कैपनि हो,’ रास्वपाका एक सासंदले भने।

अर्कोतिर रास्वपा उम्मेदवार मिलन लिम्बूलाई एमाले, कांग्रेसले सँगै धरानका मेयर हर्क साम्पाङले लिड गरेको पहिचानवादीहरूको स्वतन्त्र समूहले हराएको ठान्नेहरू पनि छन्। ‘राष्ट्रिय स्वतन्त्र पार्टीलाई इलामेली मतदाताले हराएका होइनन्, हर्क सम्पाङले नचाहिँदो बोलेर, गलत अफवाह फैलाएर मत काटेर हराएका हुन्,’ रवि लामिछानेनिकट फेसबुकमा सक्रिय एक केन्द्रीय सदस्यले बताइन्।

प्रकाशित मिति: : 2024-04-29 16:00:00

प्रतिकृया दिनुहोस्