प्रहरीले बसको डिक्कीमा खुर्सानीको बोराभित्र लुकाएर लैजाँदै गरेको विष्फोटक पदार्थसहित दुई जनालाई पक्राउ गरेको छ।
इलाका प्रहरी कार्यालय जितपुरबाट खटिएको प्रहरी टोलीले फेटा गाँउपालिका १ बस्ने २८ वर्षीय लालबाबु दास र २७ वर्षीय कन्हैया दास पक्राउ गरेकाे हाे।
वीरगञ्जबाट चितवनतर्फ जाँदै गरेको ना. ७ ख ६०४१ नम्बरको बसलाई जितपुर सिमरा उपमहानगरपालिका ५ स्थित लालका पुल नजिकै सडकखण्डमा चेकजाँच गर्ने क्रममा नियन्त्रणमा लिएको प्रहरीले जनाएकाे छ।
बोराबाट नागिन पटका ४० बण्डल, विष्फोटक पदार्थ बनाउन प्रयोग गरिने गन्दक जस्तो देखिने पहेलो पदार्थ १ किलो ५ सय ग्राम र सुहागा जस्तो देखिने सेतो पदार्थ ६ किलो ९ सय ग्राम फेला परेको जिल्ला प्रहरी कार्यालय बाराका प्रवक्ता गौतम मिश्रले जानकारी दिए।
विष्फोटक पदार्थसहित पक्राउ परेका उनीहरु विरुद्ध विष्फोटक पदार्थ अन्तर्गत कसुरमा बारा जिल्ला अदालतबाट ५ दिनको म्याद अनुमति लिई थप अनुसन्धान भइरहेको उनले जनाए।