क्रेजी ट्रम्प!

२०४६ सालको बहुदलीय व्यवस्थापछि एकाएक दुलोबाट निस्केर कहिले पुरा नहुने सपना बाँडेका मदन भण्डारी जस्तै अमेरिकाको ४५औं राष्ट्रपतिमा फुत्त निर्वाचित भएर डोनाल्ड ट्रम्प जिरोबाट हिरो सावित भएका थिए। तर, आफ्नो चार वर्षे विवादास्पद कार्यकालका कारण उनी हालै सम्पन्न निर्वाचनमा डेमोक्र्याटिक पार्टीका उम्मेदवार जोसेफ आर वाइडेनसँग पराजित भएर पुनः जिरो सावित भए।   

अमेरिकी चुनावको आधिकारीक नतिजा नआइसकेको हालको अवस्थामा ट्रम्प अझैं विवादास्पद अभिव्यक्ति दिनबाट पछि हटेका छैनन्। चुनावको प्रारम्भिक नतिजा सार्वजनिक हुँदा उनी चुनावमा धाँधली भएको बताइरहेका छन्।

सरकार प्रमुख भएर आफैले गराएको चुनावमा आफूलाई नै धाँधली गरेर विपक्षीले हराएको अभिव्यक्ति दिने सम्भवत ट्रम्प विश्वको पहिलो राष्ट्राध्यक्ष होलान। उनले मतदाताको निर्णय स्वीकार नगर्ने जस्ता अभिव्यक्ति दिएर आफू हठी स्वभावको भएको प्रमाण दिएका छन्। 

प्रजातान्त्रिक देशमा निर्वाचनको परिणामलाई अस्वीकार गर्नु भनेको आम मतदाताको अपमान हो। 

१४ जुन १९४६ मा न्युयोर्क शहरमा जन्मेका ट्र्म्प विशुद्ध व्यापारी हुन्। ६ फिट ३ इन्च अग्ला ट्रम्पको अनुहार देशको सर्वोच्च व्यक्ति बन्दा पनि तनावग्रस्त र क्रोधित नै देखिन्थ्यो। 

आफ्नो विचित्रको ‘हेयर कट’ का कारण थप चर्चामा रहेका ट्र्म्प स्त्री लम्पट भएको जगजाहेर नै छ। बेश्यागमनको लागि मात्र लाखौँ डलर खर्चिएका ट्र्म्प सिनेमा र मोड्लिङ्गसँग सम्बन्धित सुन्दरीसँग थुप्रै विवादमा अल्झिएका छन्। हाल कि पत्नी मेलानिया ट्र्म्पबाहेक अरु दुई श्रीमतीसँग उनले पारपाचुके गरेका थिए। उनको तीन श्रीमतीबाट पाँच छोरा–छोरी छन्।

व्हार्टन स्कूल, यूनिवर्सिटी अफ पेन्सेल्भेनिया र ब्रोक्सको फोरुन्होने धम विश्वविद्यालयबाट स्नातक उपाधि प्राप्त ट्र्म्पले आफ्नो बुवाको घर–जग्गा सम्बन्धि कारोबार विरासतको रूपमा प्राप्त गरेका थिए। 

 राजनीतिक विश्लेषकको कुरालाई सत्य मान्ने हो भने, ट्रम्प राजनीतिक प्राणी होइनन्। अर्थात् नेपाली उखानलाई सापटी लिने हो भने, उनी टुप्पोबाट पलाएका नेता हुन्। हिन्दीको उखानमा यसलाई ‘अल्लाह मेहरबान तो गधा पहलबान’ भन्दा अन्यथा नलाग्ला। 

अहङ्कारी स्वभावका ट्र्म्प समय–समयमा विवादास्पद अभिव्यक्ति दिएर ‘कू’ गर्ने धम्की दिँदै आइरहेका छन्। 

आप्रवासीप्रति कडा तथा अनुदार नीति, काला जातिका नागरिकप्रति असमान व्यवहार, स्त्री लम्पट स्वभाव र बिभिन्न स्थानमा दिने गैरजिम्मेवार अभिव्यक्तिका कारण उनको लोकप्रियतामा ह्रास आएको थियो। 
दोस्रो विश्व युद्धताका इटालीसँग पराजित भएको आफ्नो सेनालाई हरूवा भनेर अपमान गरेको कुराले देशभक्त अमेरिकीहरू पछिल्लो समय उनीबाट रुस्ट देखिन्थे। 
हलिउड अभिनेत्री तथा मोडलिङ व्यवसायमा संलग्न सुन्दरीहरूले समय विताएबापत आफूले पाउनुपर्ने रकम पुरा नदिएको भन्दै उनीविरूद्ध मुद्धा मामिला गरेका थिए। उनीमाथि लागेका कैयौं यौन शोषणको आरोपका कारण उनी संवेदनहीन र अमानवीय व्यक्ति भएको प्रस्ट हुन्छ। 
आफ्नो चार वर्षे कार्यकालमा उनी बहुलठ्ठी अभिव्यक्ति र कमजोर चारित्रिक गतिबिधिका कारण सँधै सनसनीपूर्ण समाचार बनिरहे। 

कोभिड–१९ महामारीलाई नजरअन्दाज गर्नु, मास्क लगाउन कुनै हालतमा नमान्नु, विज्ञ र वैज्ञानिकलाई अपमानित गर्नु र कोरोनाको भ्याक्सिन चाँडै बजारमा आउने भनेर अमेरिकी जनतासँग झुठो बोल्नु जस्ता कुराले पनि वर्तमान राष्ट्रपति ट्रम्पको लोकप्रियता खस्केको थियो। 

तर, चुनावको सेरोफेरोमा आफैलाई कोरोना संक्रमण भएपछि उनी सँधै मास्क लगाएर सार्वजनिक समारोहमा देखा परे। यसबाट उनी पाखण्डी व्यक्ति भएको प्रमाणित हुन्छ। 

यस्तै चेन माइग्रेसन (छोराछोरी नागरिक भयो भने बाबुआमा र बाबुआमा नागरिक भयो भने छोराछोरी स्वतः नागरिक हुने नियम) को कट्टर बिरोधी हुँदाहुँदै पनि उनको सासु र ससुराले यसै नियमको आधारमा अमेरिकाको ग्रीन कार्ड (स्थायी बसोबासको अनुमति पत्र) लिएका थिए। यो घटनाले उनको छवी– अगाडि एउटा कुरा बोल्ने तर पछाडि अर्के काम गर्ने नेताको बन्न पुगेको थियो।  

अमेरिकामा पूर्व राष्ट्रपतिलाई ‘मिस्टर एक्स प्रेसिडेन्ट’ भन्ने चलन छ। तर, पंक्तिकारको विचारमा उनलाई ‘मिस्टर एक्स पे्रसिडेण्ट’ भन्दा पनि अमेरिकी जनताले ‘क्रेजी ट्र्म्प’ को उपनामले सम्झने छन्। 

चार वर्षअघि रिपब्लिकन पार्टीका कट्टर समर्थकले पनि नरुचाएका ट्र्म्प अकस्मात अमेरिकी क्षितिजमा उदाउन सफल भएका थिए। तर, त्यसको मूल्यलाई उनले बुझन सकेनन्। त्यसैले आज त्यो क्षितिजबाट ओर्लिएर हिलोमा थचारिएका छन्। आर्थिक रुपले जति सम्पन्न भए पनि बौद्धिक रुपले टाट पल्टेका ट्र्म्पलाई आउँदो दिनमा सकारात्मकभन्दा पनि नकारात्मक रूपले विश्वले स्मरण गर्ने पक्का छ।

प्रकाशित मिति: : 2020-11-10 14:45:00

प्रतिकृया दिनुहोस्