नेकपामा ओली–प्रचण्डको विवाद : अण्डा पहिला कि चल्ला पहिला ?

लोकान्तर

काठमाडाैं

सत्तारूढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) भित्र देखिएको विवाद समाधानका लागि दोस्रो पुस्ताका नेताहरूको प्रयास जारी छ ।

मंगलवार बिहानै अध्यक्ष समेत रहेका प्रधानमन्त्री केपी शर्मा ओलीको सन्देश लिएर लुम्बिनी प्रदेशका मुख्यमन्त्री समेत रहेका स्थायी कमिटी सदस्य शंकर पोखरेल अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ निवास खुमलटार पुगे । 

उनले यतिबेला २ अध्यक्षबीच नै सहमतिको खाँचो रहेको भन्दै प्रचण्डलाई ओलीसँग छलफल गर्न आग्रह गरे । 

‘यतिबेला अन्य बैठक–भेलाभन्दा पनि प्रधानमन्त्री ओलीसँगै सहमति गरेर सचिवालय बैठक बोलाउन आवश्यक छ,’ पोखरेलको भनाइ उदृत गर्दै स्रोतले लोकान्तरसँग भन्यो, ‘ओली कमरेडको पनि यही धारणा छ । तपाईंहरू मिल्दा पार्टी अघि बढ्छ । तपाईंहरूबीच संवादहीनता बढ्यो भने एकताविरोधी क्रियाकलापहरू बढ्छन् ।’

जवाफमा प्रचण्डले आफू एक्लै बालुवाटार जानुको कुनै अर्थ नरहेको बताए । ‘उहाँ (ओली) व्यक्तिगत रूपमै अपमानको तहमा ओर्लिनुभएको छ । जे जति विवाद छ, सचिवालय बैठकले नै हल गर्छ । त्यो भन्दा दायाँबायाँ म हुन्न,’ प्रचण्डको जवाफ थियो यो ।

जवाफमा पोखरेलले सचिवालय बैठक बोलाउन ओली पनि तयार रहेको तर त्यसका लागि अध्यक्षद्वयबीच परामर्श हुनुपर्ने बताए । 

अध्यक्ष प्रचण्डलाई मनाउन सोमवार महासचिव विष्णु पौडेल पनि खुमलटार पुगेका थिए । तर सोमवार पनि प्रचण्डले एक्लाएक्लै छलफलको कुनै अर्थ नरहेको भन्दै पौडेललाई फर्काइदिए ।

प्रकाशित मिति: : 2020-11-10 17:47:00

प्रतिकृया दिनुहोस्