भोलि उठी कहाँ जाने केही थाहा छैन…

अनलाइनखबर

काठमाडाैं

२६ कात्तिक, काठमाडौं । समाजवाद उन्मुख हाम्रो देशको एउटा चेहरा पछिल्लो समय खुलामञ्चमा उद्घाटित छ ।

कुनै समय तत्कालीन माओवादीले हजारौं जनता बटुलेर क्रान्ति सफल भएको उद्घोष गरेको यो मञ्चमा अहिले एक गाँस तातो भातका लागि भौतारिँदै गरिबहरु थाल थापेर लामवद्ध छन् ।

माओवादी मात्र होइन, नेपालका कुनै राजनीतिक दल छैनन्, जसले खुल्लामञ्चमा जनताको मुक्तिको भाषण नगरेका हुन् । मीठा–मीठा सपना नसुनाएका हुन् । तर, अचेल यहाँ सपना बाँडिदैन । सरकारले खुल्लामञ्चलाई बसपार्क बनाएको छ ।

कोभिड १९ का कारण गरिएको लकडाउनपछि रासन र स्थायी आसन नभएका भोका जनता प्रत्येक दिन सास धान्न खुल्लामञ्चमा उपस्थित हुन्छन् । बिहान नौ बजे, दुई बजे र साँझ पाँच बजे महाभोज हुन्छ यो मञ्चमा ।

सरकारले खुल्लामञ्चमा खाना खुवाउन बर्जित गरे पनि कम्तीमा अभियन्ताहरु अहिलेसम्म थाकेका छैनन् । त्यसैले त कोही नाम्लो बोकेर, कोही स्थायी घररुपी सानो झोला बोकेर, कोही रोगले थिलोथिलो भएको मलीन चेहरा लिएर आउँछन् । कोही बच्चा बोकेर खानाको बाल्टीतिर हेर्दै बसपार्कको चिसो भूँइमा थचक्क बस्छन् ।

अभियन्ताहरुले एक/एक गर्दै एक अर्कालाई पानी, भात, तरकारी र दाल बाँड्छन् । उपस्थितहरु यसरी खान्छन् कि योभन्दा मिठो परिकार संसारमा अर्को छैन । बच्चादेखि बुढासम्म एकगाँस भात खेर फाल्दैनन् ।

गुडिरहेको बसबाट तर्किदै लामवद्ध भएका करिव दुई सय भोकाहरुलाई देख्दा लाग्छ, उनीहरुका सबै सपनाहरु खुल्लामञ्चको एक गाँस भातमा गएर ठोक्किएका छन् र त्यहीँ रोकिएका छन् ।

यही भीडमा एकजना बृद्ध भेटिए ।

उनका साथमा झोलासँगै बैशाखी पनि थियो । कुममा झोला र बैशाखीको अर्कोपट्टि प्लास्टिकको पोको राखेका थिए । उनी खुल्लामञ्चको मेसमा खाना खाने दुई दिनदेखिका पाहुना हुन् ।

उनले करिव १० मिनटेमा प्लास्टिकको थालको खाना सिध्याए । अनि बैशाखीको सहाराले जूठो हात लिएर उठे ।

प्रकाशित मिति: : 2020-11-11 21:07:00

प्रतिकृया दिनुहोस्