पोखरामा एक करोड लिटर क्षमताको पेट्रोलियम भण्डारण गृह बनाइँदै

नेपाल आयल निगमले गण्डकी प्रदेशको पोखरामा एक करोड लिटर क्षमताको पेट्रोलियम भण्डारण गृह निर्माण गर्ने भएको छ ।

पर्याप्त भण्डारण क्षमताको अभावमा पेट्रोलियम पदार्थको वितरणमा देखिएको समस्या समाधान गर्ने उद्देश्यले एक करोड लिटर क्षमताको पेट्रोलियम भण्डारण गृह निर्माण तथा पुनरुत्थान गर्न लागिएको निगमले जनाएको छ । भण्डारण गृहको आज उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले शिलान्यास गर्ने कार्यक्रम रहेको छ ।

पोखरा महानगरपालिका वडा नम्बर २९ र ३० गगनगौँडामा निगमको गण्डकी प्रादेशिक कार्यालय मातहत दुई वटा भण्डारण ट्याङ्क निर्माण गरिनेछ । ७७ करोड ७७ लाख रुपैयाँको लगानीमा ट्याङ्की निर्माण गर्न लागिएको निगमका प्रवक्ता विनितमणि उपाध्यायले जानकारी दिए।

यो नेपालकै दोस्रो ठूलो भण्डारण गृह हुनेछ । हरेक प्रदेशमा ९० दिनका लागि इन्धन भण्डारण क्षमता विस्तार गर्ने निगमको घोषित नीतिअनुसार पहिलो परियोजनाका रुपमा गण्डकी प्रादेशिक डिपोको क्षमता अभिवृद्धि सुरु भएको पनि निगमका कार्यकारी निर्देशक सुरेन्द्र पौडेलले बताए।

पोखरा डिपोको भण्डारण क्षमता विस्तारले प्रदेशमा पेट्रोलियम पदार्थको बिक्री वितरणलाई सुदृढ बनाउन कोशेढुङ्गा सावित हुने उनको विश्वास छ ।  भण्डारण गृह निर्माणका लागि ठेक्का सम्झौता भइसकेको छ । पहिलोपटक नेपाली ठेकेदारसहित भारतीय निर्माण कम्पनीले परियोजना निर्माण गर्दैछ ।

आयोजनाको ठेक्का समानान्तर-रेलिगेयर-भारत ट्याङ्क्स जेभीले पाएको आयोजना प्रमुख मनोजकुमार ठाकुरले जानकारी दिए। आउँदाे दुई वर्षभित्र सम्पन्न गर्ने लक्ष्य राखिएको छ । निगमको गण्डकी प्रादेशिक कार्यालयले गण्डकी प्रदेशका कास्की, पर्वत, स्याङ्जा, बाग्लुङ, म्याग्दी, मुस्ताङ र तनहुँका केही भागमा पेट्रोलियम पदार्थ आपूर्ति गर्दै आएको छ ।

प्रादेशिक डिपोबाट अहिले दैनिक २४० किलोलिटर डिजेल र १२० किलोलिटर पेट्रोल बिक्री हुँदै आएको छ । यस्तै एक हप्तामा २० किलोलिटर मट्टितेल बिक्री हुँदै आएको छ । गण्डकी प्रादेशिक डिपोको अहिलेको भण्डारण क्षमता डिजेल २२८० किलोलिटर, पेट्रोल ३५० किलोलिटर र मट्टितेल ७६० किलोलिटर रहेको छ ।

नयाँ भण्डारण गृह बनेपछि अहिले डिजेल भण्डारण हुँदै आएको टयाङ्कीमा पेट्रोल भण्डारण गर्ने निगमको योजना छ । निगमसँग देशभर डिजेलको माग आठ दिन र पेट्रोलको माग पाँच दिन धान्ने क्षमता छ । निगमको इतिहासमा झण्डै दुई दशकपछि भण्डारण क्षमता विस्तार हुन लागेको हो ।

पर्याप्त भण्डारण क्षमता नहुँदा २०७२ सालमा भारतले नाकाबन्दी गर्दा नेपालमा पेट्रोलियम पदार्थको हाहाकार भएको थियो । समयमै भण्डारण क्षमता विकास गर्न नसक्दा नाकाबन्दीका बेला इन्धन अभाव भएको भन्दै चर्को निगमको आलोचना भएको थियो ।

डिपोमा एक नयाँ पहुँच सडक, दुई लाख लिटर क्षमताको पानी भण्डारण टयाङ्क, डिपोको चमेना गृह, चालक तथा सुरक्षाकर्मी बस्नका लागि नयाँ संरचना निर्माण गरिनेछ । इन्धन भण्डारण टयाङ्क र यसमा जडान हुने संरचनाहरु जर्मन प्रविधिमा आधारित पूर्णस्वचालित हुने निगमले जनाएको छ ।

डिजेल लोड र अनलोड सुविधा पूर्णरुपमा स्वचालित र हाइटेक सुरक्षा प्रविधिमा आधारित हुनेछ । नयाँ भण्डारण गृहमा २० हजार लिटर क्षमताका ३२ देखि ४० टयाङ्करले दैनिक डिजेल अनलोड गर्न सक्नेछन् । आपतकालीन अवस्था आएको खण्डमा एकै स्वीचमा सबै प्रणाली बन्द गर्न सकिने रिमोट कन्ट्रोल प्रविधिमा राखिनेछ ।

परियोजना सम्पन्न भएपछि काठमाण्डौ उपत्यकाको ब्याकअपका रुपमा पनि पोखरा डिपोले काम गर्ने कार्यकारी निर्देशक पौडेलको विश्वास छ ।

प्रकाशित मिति: : 2020-11-12 12:41:00

प्रतिकृया दिनुहोस्