अलपत्र कामदारकाे प्रश्न : सरकार ! पैसा नहुनेले विदेशमै मर्नु ?

शिलापत्र

काठमाडाै‌

धरानका जीवन कटुवाल मलेसियामा चार वर्षदेखि अवैध रूपमा काम गर्दै आएका छन् । कोरोना भाइरसका कारण गत साउनदेखि उनी स्वदेश फर्कन बाटो कुरिरहेका छन् । 

सरकारले उद्धार गर्छ भनेर चार महिनादेखि बाटो कुरेर बसेकाे सामाजिक सञ्जालमार्फत कटुवालले जानकारी दिए । ‘कोरोना महामारी फैलिएसँगै नेपाल फर्कन सातामा एक पटक कहिले नेपाल जान पाइन्छ भनेर नेपाली दूतावासमा सोध्न पुग्छु । तर, दूतावासले आगामी साता भनेकाे चार महिना भयाे,’ उनले भने, ‘मलेसियाबाट फर्किनलाई साथमा पैसा छैन । सरकारले फर्काउँछ भनेर पर्खिरहेको हुँ । अवैध भएर बसेका कारण मलेसियाली प्रहरीले जति बेला पनि पक्रिने डर छ ।’ 

कटुवालले नेपाल फर्कन नपाए मलेसियामा पुनः अवैध भएर काम गर्ने बताए । सरकारले उद्धार नगरे फेरि मलेसियाकै रोजगारदाता कम्पनीमा भागेर काम गर्ने सोचिरहेको उनको भनाइ छ । 

यस्तै, कतारमा भोजपुरका दिलराज राई पनि अलपत्र अवस्थामा छन् । राईसँग स्वदेश फर्किने पैसा नभएका कारण उनी पनि चार महिनादेखि नेपाल फर्कन पाएका छैनन् । उनी पनि काेराेनाकै कारण रोजगार गुमेपछि फर्किने पैसा नहुँदा कतारमै अलपत्र भएर बसेका हुन् ।

प्रकाशित मिति: : 2020-11-17 10:12:00

प्रतिकृया दिनुहोस्