सहमतिमा सचिवालय बैठक गर्न प्रचण्ड-नेपाल पक्षले ओलीलाई अन्तिम समयसम्म मौका दिने

देशसञ्चार

काठमाडौं

काठमाडौँ- सत्ताधारी नेकपाका अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीसँग असन्तुष्ट अर्का अध्यक्ष पुष्पकमल दाहाल, वरिष्ठ नेता माधवकुमार नेपाल पक्षले भोलि (बुधबार) ओली पक्ष सामेल नभए पनि सचिवालयको औपचारिक बैठक डाक्नका लागि तयारी तीव्र पारेको छ।

त्यसका लागि प्रचण्ड-नेपाल पक्षले मगंलबार साँझसम्म ओलीपक्षका गतिविधि नियाल्ने, त्यसपछि साँझै या भोलि  बिहान अनौपचारिक बैठक बसी सचिवालयको औपचारिक बैठकका एजेण्डा तय गर्ने गरी तयारी थालेको छ।

प्रचण्ड-नेपाल पक्षका नेता नारायणकाजी श्रेष्ठले भोलि पूर्वनिर्धारित समयमा सकेसम्म सहमतिमा बैठक हुने नभए आफूहरुले बैठक डाक्ने बताए। उनले भने,‘हामी सहमतिमै बैठक राख्न खोजिरहेका छौँ। त्यसका लागि हामी अन्तिम समयसम्म प्रतिक्षा गर्ने छौँ। तर प्रधानमन्त्री मान्नु भएन भने हामी बस्ने छौँ र त्यो बैठक औपचारिक हुनेछ।’

प्रचण्ड-नेपाल पक्षले ओली पक्ष सामेल नभएमा पनि औपचारिक बैठक बोलाउने अडान लिइरहेका बेला उता ओलीले भने बालुवाटारमा छलफल तीव्र पारेका छन्।

उनले सोमबार राति आफ्नो समूहका सदस्यहरुसँगै पूर्व माओवादी पृष्ठभूमिका नेता देवेन्द्र पौडेल र टोबहादुर रायमाझीलाई बोलाएर निकासबारे सुझाव लिएका थिए।

प्रकाशित मिति: : 2020-11-17 11:10:00

प्रतिकृया दिनुहोस्