आतंकवादी संगठन अल–कायदाका प्रमुख अल जवाहिरीको निधन भएको दावी

विश्वको सबैभन्दा खतरनाक आतंकवादी संगठन अल–कायदाका प्रमुख अल जवाहिरीको निधन भएको छ। उनी दमको रोगबाट पिडित थिए। 

लामो समयदेखि अफगानिस्तानको पहाडी क्षेत्रमा लुक्दै आएका जवाहिरीले राम्रो उपचार पाएका थिएनन्। 

अरब न्युजले पाकिस्तान र अफगानिस्तानमा रहेका विशेष सूत्रमार्फत जवाहिरीको निधन भएको समाचार प्रकासित गरेको छ। 

अल–कायदासँग आवद्ध सूत्रले अरब न्युजलाई दिएको जानकारी अनुसार ६८ वर्षीय जवाहिरीले गजनी भन्ने ठाउँमा अन्तिम श्वास फेरेका थिए।

उनलाई लामो समयदेखि श्वास फेर्न समस्या थियो। पछिल्लो समय उनी निकै बिरामी भएको र राम्रो उपचार नपाएको बताइएको छ। उनको निधनमा निकै कम मानिस मात्र भेला भएका थिए। 

अरब न्युजको यो समाचारको विषयमा अमेरिकी जासुसी संस्था एफबीआई छानवीनमा लागेको पनि समाचार छ। जवाहिरी र अब्दुल्ला एफबीआईको सबैभन्दा बढी खोजिएका आतंकवादीको सूचिमा समावेश छन्। 

जवाहिरीको विषयमा जानकारी दिनेलाई चार करोड रुपैयाँको पुरस्कार घोषणा गरिएको थियो। 

अल–कायदाका संस्थापक ओसामा बिन लादेनलाई अमेरिकी सेनाले पाकिस्तानको अबोटाबादमा मारेपछि जवाहिरी यो संंस्थाको प्रमुख बनेका थिए। 

इजिप्टका स्थायीवासिन्दा जवाहिरी आँखाको डाक्टर हुन्। उनी २०११ मा अल–कायदा प्रमुख बनेका थिए। 

विश्वमा भएका थुप्रै आतंकवादी हमलामा उनको हात रहेको बताइन्छ। १५ वर्षको उमेरमा नै जवाहिरी पहिलो पल्ट पक्राउ परेका थिए।

उनले १९४७ मा कायरो विश्वविधालयबाट मेडिकलमा स्नातक गरेका थिए। यो विश्वविधालयमा उनका बुवा प्रोफेसर थिए। 

सन् १९९८ मा केन्या र तान्जेनियास्थित अमेरिकी दूतावासमा आतंकवादी हमला हुँदा यसको योजनाकार जवाहिरी थिए। यो घटनामा २२४ जनाको निधन भएको थियो। 

सन् २००५ को लन्डन बम बिस्फोटमा पनि उनको हात थियो। यतिबेला ५६ जनामा मारिएका थिए। जवाहिरी बेलायतलाई इस्लामको सबैभन्दा ठूलो दुश्मन भन्ने गर्थे। 

जवाहिरी मरेको खबर अल–कायदाका दोस्रो नम्बरका कमाण्डर अब्दुल्ला अहमद अब्दुल्ला अर्थात अबु मोहम्मद अल मासरीको ७ अगस्टमा इरानको राजधानी तेहरानमा मारिएको खबर लगत्तै आएको हो। 

तेहरानमा सुटआउटमा अबु मोहम्मद मारिएका थिए। यो घटनामा अबुकी छोरी मरियमको पनि निधन भएको थियो।

प्रकाशित मिति: : 2020-11-20 22:19:00

प्रतिकृया दिनुहोस्