पाण्डेमाथि अभद्र व्यवहार गर्नेलाई कडा कारवाही गर्न नेपालको माग

बिएल संवाददाता

काठमाडाै‌ं

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) नेता तथा पूर्वमन्त्री सुरेन्द्र पाण्डेमाथि चितवनको राप्ती नगरमा भएको अभद्र व्यवहारको वरिष्ठ नेता माधवकुमार नेपालले भत्सर्ना गरेका छन्। 

गृह जिल्लाका विकास आयोजनाहरूको अनुगमन तथा पार्टीका कार्यक्रमहरूमा सहभागी हुने क्रममा पाण्डेमाथि शनिबार राप्ती नगर पार्टीको बैठकमा मन्तब्य राखिरहेको बेला केही ब्यक्तिले नाराबाजीले गरेका थिए।

नेता नेपालले उक्त घटना सुनुयोजित भएको भन्दै छानविन गरी कडा कारवाही गर्न माग गरेका छन्।

‘पूर्व अर्थमन्त्री तथा प्रतिनिधिसभा सदस्य कमरेड सुरेन्द्र पाण्डे मन्तव्य राखिरहेको बेला अनाधिकृत रूपमा प्रवेश गरेका केही व्यक्तिहरूले सुनियोजित रूपमा गरेको अभद्र ब्यवहार तथा नाराबाजीको निन्दा एवम् भर्त्सना गर्दछु। उक्त कार्य गराउने जोसुुकै भएपनि छानविन गरी कडा कारवाही गर्न सम्बन्धित सवैको ध्यानाकर्षण गर्दछु’, नेता नेपालले भनेका छन्। 

त्यस्तै नेता नेपालले सभ्य, सुसंस्कृत एवम् समुन्नत समाज निर्माण गर्ने उद्देश्य बोकेको कम्युनिष्ट आदर्श अबलम्वन गर्ने लोकतान्त्रिक कम्युनिष्ट पार्टीका लागि पटक्कै नसुहाउने बताएका छन्।

प्रकाशित मिति: : 2020-11-21 17:39:00

प्रतिकृया दिनुहोस्