कर्णाली प्रतिष्ठानमा ३९ दिनदेखि कर्मचारीको ताला, कामकाज ठप्प

कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको शैक्षिक र प्रशासन फाँटमा ३९ दिनदेखि लागेको ताला अझै खुल्न सकेको छैन।

प्रतिष्ठानको काठमाडौंस्थित सम्पर्क कार्यालयबाट उपकुलपति प्रा डा राजेन्द्रराज वाग्लेले मुनिराज क्षेत्रीलाई जनस्वास्थ्य संकायको डिन नियुक्त गरेपछि कर्मचारीले तालाबन्दी गरेका थिए।

तालाबन्दीका कारण कामकाज ठप्प भएको छ भने शैक्षिक कार्यक्रम पनि प्रभावित भएका छन्।

अनावश्यक रुपमा डिन नियुक्त गरिएको आन्दोलनरत कर्मचारीले बताएका छन्।  

प्रतिष्ठानलाई अनावश्यक रुपमा आर्थिक भार थपेको कारण देखाउँदै २८ असोजमा उनीहरुले तालाबन्दी गरेका थिए।

३० विद्यार्थी अध्ययनरत रहेको प्रतिष्ठानमा दुईजना डिन यसअघि नै नियुक्त भएकाले तेस्रो डिन आवश्यक नभएको कर्मचारी कल्याण समितिका संयोजक रामाकान्त उपाध्यायले बिएल नेपाली सेवालाई बताए।

‘चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान, पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठान, धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा पनि एक÷एकजना डिन मात्रै छन्,’ उनले भने, ‘आफ्ना मान्छेलाई काम दिन तेस्रो डिन नियुक्त गरिएको हो। यसबाट प्रतिष्ठानलाई आर्थिक भार र नोक्सान बाहेक अरु कुनै फाइदा छैन।’

तर ताला लागेको ३९ दिनसम्म खोल्न पहल भएको छैन। हालसम्म उपकुलपति काठमाडौंबाट जुम्ला नफर्की उतैबाट काम गर्दै आएका छन्। सरकारले एक वर्षअघि नै सम्पर्क कार्यालय हटाउन निर्देशन दिदा पनि उपकुलपतिले वेवास्ता गरेको आन्दोलनकारीको आरोप छ।

परिणाम कर्मचारीले आन्दोलन फिर्ता लिएका छैनन् भने प्रतिष्ठानको कामकाज अस्तव्यस्त बनेको छ।

उपकुलपति, शिक्षाध्यक्ष, रजिस्ट्रार र प्रशासनमा तालाबन्दीले शैक्षिक कार्यक्रमसमेत प्रभावित भएका छन्। एमबिबिएस पढाइ सुरु गर्ने प्रतिष्ठानको तयारी अलपत्र परेको प्रतिष्ठानले जनाएको छ। 

उपकुपति प्रा डा वाग्ले जानकारी लिन खोज्न पत्रकारको फोन सम्पर्कमा समेत आएका छैनन्।

प्रशासन र लेखा शाखामा पनि तालाबन्दी गरिएका कारण स्वास्थ्यकर्मीसहित कर्मचारीले दसैँ र तिहारमा समेत तलब नपाएको गुनासो छ। प्रतिष्ठानमा करिब तीन सय ५० जना कर्मचारी छन् कार्यरत छन्।

प्रकाशित मिति: : 2020-11-22 07:32:00

प्रतिकृया दिनुहोस्