बिमार कालापानी–सुस्तामा, ओखती ओलाङचुङ्गाेलामा ?

शिलापत्र

काठमाडौं

पार्टीभित्र विवाद उत्कर्षमा पुगिरहेकै बेला २६ कात्तिकमा प्रधानमन्त्री केपी ओली हेलिकोप्टर चढेर अचानक उत्तरी सीमानाका किमाथाङ्का पुगे । गत पुसमा स्थापित सशस्त्र प्रहरीको बोर्डर आउट पोस्ट (बीओपी) अनुगमनका लागि विभागीय मन्त्रीको सट्टा प्रधानमन्त्री पुग्नु आफैँमा अमिल्दो थियो ।

सीमाक्षेत्र भ्रमणका क्रममा ओली यतिमै खुम्चिएका छैनन् । आज मात्र उनी इलाम र ताप्लेजुङको सीमावर्ती क्षेत्र पुग्दै छन् । ५ मंसिरमै उनी यी क्षेत्र पुग्ने तय भए पनि नेकपाको अन्तरसंघर्ष चुलिएपछि स्थगित गरिएको थियो । ३ मंसिरको सचिवालय बैठकले ओलीलाई दस्तावेज लेख्ने १० दिनको समय दिएपछि स्थगित सीमा भ्रमणमा पुनः पुगेका हुन् ।

'सीमाक्षेत्रमा पुगेर अन्तर्राष्ट्रिय जगत्‌लाई सन्देश दिने हाम्रो सामर्थ्य नै छैन । त्यसैले सीमाक्षेत्र पुग्दैमा कुनै सन्देश प्रवाह हुन्छ भन्ने सोच्नु गलत हो । जसलाई सन्देश दिुनपर्ने हो, उसले पत्याउनु पनि पर्‍यो नि', पूर्वप्रधानसेनापति गौरव शमशेर राणा । 

किमाथाङ्का पुगेजस्तै ओली ताप्लेजुङ र इलाम जानुको समेत कार्यकारी प्रमुखको हैसियतमा विशेष कार्यक्रम छैन । ताप्लेजुङको घुन्सामा स्वास्थ्यचौकी उद्घाटन गरेपछि ओली चीनसँग सीमा जोडिएको ओलाङचुङ्गाेला नाका उक्लनेछन् । त्यसपछि इलामको सन्दकपुरमा रहेको बीओपी निरीक्षणमा निस्कने कार्यक्रम छ । सन्दकपुरमा भारतले सीमास्तम्भ सारेर नेपाली भूमि मिचेको नेपाल पक्षको भनाइ छ । 

आखिर ओली किन सीमानाकातिर डुलिहिँडिरहेका छन् त ? सीमा जोगाउन आफू सक्रिय र दृढ रहेको सामरिक सन्देश दिन खोजेका हुन् ? यहाँनेर के स्मरणीय छ भने भारतीय अतिक्रमणमा परेको नेपाली भूमि लिम्पियाधुरा-कालापानी क्षेत्र र नवलपरासी पश्चिमको सुस्तामा नेपाल-भारतबीच सबैभन्दा ठूलो समस्या छ । 

प्रकाशित मिति: : 2020-11-24 00:00:00

प्रतिकृया दिनुहोस्