प्रहरीको खरिदमा एकपछि अर्को अनियमितता : डेढ वर्षदेखि अख्तियारमै अल्झियो छानबिन

नेपाल प्रहरीको कपडा खरिद प्रक्रियामा गुणस्तर परीक्षणमै चलखेल हुने गरेको खुलेको छ । विदेशमा परीक्षण गराउनुपर्ने भएकाले ठेकदारहरूले चलखेल गर्दै आएको प्रहरीकै छानबिनबाट पत्ता लागेको हो ।

ऊनी कपडा खरिदमा ठेकदारले प्रहरीमा बुझाएकोभन्दा अर्कै कपडाको परीक्षण गराई गुणस्तर रिपोर्ट ल्याउने प्रयास गरेको छानबिनमा खुलेको छ । प्रहरीमा करिब दुई करोड रुपैयाँको ठेक्का पाएको क्राउन टेक्सटाइल कम्पनीका सञ्चालक पीताम्बर मुन्काले प्रहरीलाई झुक्याउने प्रयास गरेका हुन् । एसएसपी उमेश रञ्जितकार नेतृत्वको छानबिन समितिले ठेकदार मुन्कामाथि कारबाही गर्न सिफारिस गरेको छ ।

दुई वर्षअघि मुन्काको कम्पनीले करिब २६ हजार मिटर ऊनी खरिद गर्ने ठेक्का पाएको थियो । उनले कपडा बुझाएपछि प्रहरीले परीक्षणका लागि नयाँदिल्लीमा नमुना पठाएको थियो । परीक्षणमा गुणस्तरमा फेल भएपछि उनको कपडा नलिने निर्णय भएको थियो ।

त्यसविरुद्ध ठेकदार मुन्का अदालत गए । आफ्नो रोहवरविनै नमुना संकलन गरी परीक्षणमा दिएको बताउँदै फेरि परीक्षण गर्नुपर्ने उनको माग थियो । नमुना संकलन गर्दा उनलाई रोहवरमा नराखेकाले अदालतले उनकै पक्षमा आदेश दियो । त्यसपछि प्रहरीले फेरि उनलाई रोहवरमा राखी नमुना परीक्षणमा पठायो ।

त्यसक्रममा उनले चलखेल गरे । प्रहरीले नमुना पठाएको कम्पनीमा उनले छुट्टै नमुना पठाए । आफूले पठाएको नमुनाको रिपोर्ट प्रहरीमा पेस गरी आफ्नो कपडा पास गराउने प्रयास गरेको छानबिनमा खुलेको छ । ‘उनको बदमासीलाई हामीले पत्ता लगाएका छौँ,’ एक उच्च प्रहरी अधिकारीले भने, ‘उनको धरौटी जफत गरी कम्पनीलाई कालोसूचीमा राखिएको छ, प्रहरीलाई झुक्याउने प्रयास गरेकाले त्यसमा पनि छुट्टै कानुनी कारबाहीबारे छलफल भइरहेको छ ।’

उनीविरुद्ध किर्ते मुद्दामा कारबाही चलाउनेबारे छलफल भइरहेको स्रोत बताउँछ । उनले बुझाएको सामान दुई वर्षदेखि प्रहरीको भण्डारमा छ । सामान फिर्ता लैजान प्रहरीले उनलाई पत्राचार गरिसकेको छ ।

एक प्रहरी अधिकारीका अनुसार मुन्काले लामो समयदेखि नेपाल प्रहरी, सशस्त्र प्रहरी र नेपाली सेनामा कपडाको ठेक्का लिँदै आएका छन् । हरेक वर्ष सुरक्षा निकायमा करोडौँको ठेक्का पाउँदै आएका उनले विगतदेखि नै मिलेमतोमा गुणस्तरीय कपडा परीक्षणमा पठाउने र कमसल सामग्री आपूर्ति गर्दै आएको स्रोत बताउँछ । ‘सस्तोमा ठेक्का पार्ने र मिलेमतोमा कमसल सामान आपूर्तिको प्रयास देखिन्छ,’ छानबिन समितिमा रहेका एक अधिकारी भन्छन् । केन्द्रीय प्रहरी प्रवक्ता एसएसपी कुबेर कडायतले भने विस्तृत छानबिन भइरहेकाले आफूलाई त्यसबारे धेरै जानकारी नभएको बताए ।

प्रकाशित मिति: : 2020-11-25 01:13:00

प्रतिकृया दिनुहोस्