कोरोना संक्रमितको संख्या ६ करोड नाघ्यो, डिसेम्बरमा ८ करोड पुग्ने चेतावनी

विश्वमा कोरोना संक्रमितको संख्या ६ करोड नाघेको छ। यस्तै, कोरोनाबाट मर्नेको संख्या पनि १४ लाख पुगेको छ। 

यसैबीच विश्वभरि कोरोना संक्रमण पनि तीब्र गतिमा फैलिएको विभिन्न अनुसन्धानले बताएका छन्। गत सेप्टेम्बरमा कोरोना संक्रमितको संख्या प्रत्येक दिन ३ लाखको हाराहारीमा थियो। अहिले यो बढेर ६ लाखको हाराहारीमा पुगेको छ। 

अमेरिका, ब्राजिल, फ्रान्स, रुससहित ५४ देशमा कोरोनाको दोस्रो लहर सुरु भइसकेको छ। पछिल्लो समय सबैभन्दा धेरै प्रभाव उत्तर अमेरिकी क्षेत्र, युरोप र एसियामा देखिएको छ। 

१७ नोभेम्बर २०१९ मा चीनको उहान शहरमा एकजना ५५ वर्षीय व्यक्तिबाट सुरु भएको कोरोना संक्रमण अहिले आउँदा भयावह बनिसकेको छ। 

चीनमा १७ नोभेम्बर–३१ डिसेम्बर २०१९ सम्म चीनमा ५ सय ६६ जना संक्रमित भइसकेका थिए। तर, चीनले २३ जनवरीदेखि उहान शहरलाई लकडाउन गर्दै यहाँ बसोबास गर्ने सबैजनालाई आइसोलेसनमा राखेको थियो। 

अमेरिकामा २१ जनवरीमा, फ्रान्समा २४ जनवरीमा, इटालीमा ३१ जनवरीमा र भारतमा ३० जनवरीमा पहिलो कोरोना संक्रमित फेला परेका थिए। 

नेपालमा पनि ९ जनवरीमा उहानबाट काठमाडौं फर्किएका ३१ वर्षीय एक युवामा देखा परेको थियो। उनको २३ जनवरीमा सार्वजनिक भएको रिपोर्टमा कोरोनाको सिम्टम देखिएको थियो। 

 विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ) ले ३० जनवरीमा पहिलो पल्ट कोरोना भाइरसको विषयलाई लिएर ‘हेल्थ इमर्जेन्सी’ घोषणा गरेको थियो भने ११ मार्चमा महामारी घोषणा  गरेको थियो। 

चीनको उहानमा १७ नोभेम्बरमा देखिएको पहिलो संक्रमितपछि एक करोडको संख्या पुग्न २ सय २३ दिन लागेको थियो। तर, पछिल्लो समय १८ दिनमै १ करोड संक्रमित संख्या नाघेको छ। यही अवस्था रहे डिसेम्बरको अन्त्यमा संक्रमितको संख्या ८ करोड पुग्न सक्ने अनुमान गरिएको छ। 

डब्ल्यूएचओले १७ नोभेम्बरमा सार्वजनिक गरेको आफ्नो साप्ताहीक रिपोर्टमा भनेको छ–‘९–१५ नोभेम्बरभित्र विश्वभरि ४० लाख बढी संक्रमित फेला परेका छन्। 

यो पछिल्लो साताको तुलनामा २२ प्रतिशतले बृद्धि भएको हो।’ यसअवधिमा ६० हजार मानिसको पनि निधन भएको बताइएको छ। जुन गत साताको अनुपातमा ११ प्रतिशतले बृद्धि भएको हो। निधन भएका व्यक्तिमा ८१ प्रतिशत युरोप र अमेरिकामा रहेका छन्। 

डब्ल्यूएचओले जाडोयाममा जुन प्रकारले संक्रमितको संख्या बढेको छ, यसले मध्यपूर्वी देशमा कोरोना संक्रमणको जोखिम बढ्ने भविस्यवाणी गरेको छ। 

कोरोनाको दोस्रो लहर सुरु भएको ५४ देशमध्ये २५ देश युरोपका छन्। यस्तै, एसियामा इरान, टर्की, जोर्डन, इन्डोनेसिया, जर्जियालगायत ११ देश समावेश छ। नर्थ अमेरिकामा पनि ७ देश, अफ्रिकामा ६ देश समावेश छन्।

प्रकाशित मिति: : 2020-11-25 15:59:00

प्रतिकृया दिनुहोस्