भारतमा कोभिड अस्पतालमा आगलागी, ५ कोरोना संक्रमितको जलेर निधन

भारतको गुजरात राज्यस्थित राजकोट जिल्लाको एक कोभिड अस्पतालमा बिहीबार राती आगो लाग्दा पाँच जना कोरोना संक्रमितको जलेर मृत्यु भएको छ। संक्रमित बिरामीको अवस्था चिन्ताजनक थियो।
 
मेशिनमा भएको गडबडीका कारण तालमा अत्याधिक बिजुली प्रभावित हुँदा आगो लागेको अस्पताल प्रशासनले बताएको छ। 

शहरको आनन्द बंगला नजिकै उदय शिवानन्द कोभिड अस्पतालको आइसीयू वार्डमा मध्यराती २ बजे आगो लागेको स्थानीय प्रहरीले पनि पुष्टी गरेको छ। 

अस्पतालमा आगो लाग्दा ३३ कोरोना संक्रमितको उपचार भइरहेको प्रशासनले बताएको छ। जीवितै उद्दार गरिएको बिरामीलाई अर्को अस्पतालमा लगिएको थियो। 

आगोले जलेर मर्ने बिरामीमा रामसिंह भाई, नितिनभाई बदानी, सिकलाल अग्रावत, सञ्जय राठौर र केशुभाई अकबरी रहेको प्रहरीले बताएको छ। उदय शिवानन्द अस्पताललाई गत सेप्टेम्बरमा राज्य सरकारले कोभिड सेन्टरको मान्यता दिएको थियो। गुजरातमा अगस्टदेखि अहिलेसम्म अस्पतालमा आगो लागेको यो चौथो घटना हो। 

आगो लागेको तुरुन्त दमकल घटनास्थल पुगेको थियो। अस्पतालको नर्सिङ स्टाफले दोस्रो तल्लामा बनेका आइसीयू वार्डमा अचानक धुँवा आएपछि भागाभाग भएको थियो। झ्यालको सिसाबाट केही बिरामीको उद्दार गरिएको उनीहरूले बताएका छन्। 

यसअघि ६ अगस्टमा अहमदाबादको नवरंगपुरामा रहेको श्रेय अस्पतालको चौथो तल्लामा पनि आगो लागेको थियो। यतिबेला आठ जनाको निधन भएको थियो। 

२५ अगस्टमा पनि जामनगरको जीजी अस्पतालको आइसीयूमा आगो लागेको थियो। यतिबेला पनि नौ जनाको निधन भएको थियो। 

गत सेप्टेम्बरमा बडोदारास्थित सयाजी अस्पतालको आइसीयू–२ वार्डमा पनि आगो लागेको थियो। यतिबेला भने कसैको निधन भएको थिएन।

प्रकाशित मिति: : 2020-11-27 11:33:00

प्रतिकृया दिनुहोस्