लक्ष्मीपुर पतारी गाउँपालिका बेथिति १२

भतिजा र भाञ्जालाई ठेकेदार बनाएर अध्यक्षले मच्चाए ब्रम्हलुट

सिरहाको लक्ष्मीपुर पतारी गाउँपालिकाका प्रमुख रामवल्लभ साहले पतारी पोखरी जिर्णोद्धार गर्न गठित उपभोक्ता समितिको अध्यक्ष आफ्नो भतिजा अशोककुमार साहलाई बनाए। अशोक मेयर साहका सहोदर दाजुका छोरा हुन्।

भतिजा अध्यक्ष रहेको समितिले खर्च गर्न पाउने गरी सो पोखरी जिर्णोद्धारका लागि ४७ लाख ५१ हजार १ सय ११ रुपैयाँ बजेट विनियोजन गरिदिए। गाउँपालिकाले उक्त पोखरीको जिर्णोद्धार शीर्षकमा सबै भुुक्तानी दिइसकेको छ तर पोखरी जिर्णोद्धार भने अझै गरिसकिएको छैन। 

‘गरीबसँग विश्वेश्वर कार्र्र्यक्रम’ अन्तर्गत संघीय सरकारले दिएको ५२ लाख रुपैयाँको ‘जनता आवास कार्यक्रम’ पनि उनै भतिजा अशोकलाई दिएका थिए। जनता आवास कार्यक्रमअन्तर्गत दलित समुदायका व्यक्तिलाई जस्ता (च्यादर) को छानासहितको पक्की घर बनाइदिनुपथ्र्यो।

 गाउँपालिकाभरि १३ वटा घर दलितका लागि बनाइदिनुपथ्र्यो। प्रत्येक घरका लागि चार लाख रुपैयाँ खर्च विनियोजन गरिएको थियो तर तीन ओटा मात्रै घर बनाएर ५२ लाख रुपैयाँ भुक्तानी लिइसकेको अभिलेखमा देखिन्छ।

अशोकले अनियमितता गरेर पतारी बजारमा आफ्नो पक्की घर बनाएको आरोप स्थानीय बासिन्दाको छ। उनले अहिले घरमै किराना पसल सञ्चालन गरिरहेका छन्।

रामबल्लभ साहले तत्कालीन संघीय समाजवादी पार्टीबाट गाउँपालिका अध्यक्ष जितेका थिए। अहिले उनी जनता समाजवादी पार्टीका नेता हुन्। उनले भाञ्जा जीवनारायण साहलाई पनि ध.मा.वि., महेशपुर पतारीको भवन निर्माणको उपभोक्ता समिति अध्यक्ष बनाइदिए। 

भाञ्जाले नेतृत्व गरेको उक्त विद्यालयको भवन निर्माणको लागि ४२ लाख रुपैयाँ रकम विनियोजन गरियो। विद्यालय भवन निर्माणको काम अधुरै छ तर गाउँपालिकाले सबै भुक्तानी दिइसकेको छ। भाञ्जा जीवनारायण भारत र नेपाल दुवैतिरको नागरिक भएको प्रमाण पनि फेला परेको छ। 

गाउँपालिका प्रमुख साहका अर्का भतिजा श्याम साहलाई गाउँपालिका आफ्नो निजी चालकमा नियुक्त गरेका छन्। गाउँपालिकाबाट तलब–भत्ता खुवाइरहेका छन्। 
नाताले नाति पर्ने पप्पु साहलाई गाउँपालिकाको ठेक्का पारिदिँदै आएका छन्।

राजदेवी कन्ट्रक्सनका प्रोपाईटर पप्पुलाई अध्यक्ष साहले ८२ लाख रुपैयाँको पोखरी जिर्णोद्धार र पोखरी घेर्ने पर्खाल बनाउने ठेक्का दिए। त्यसबापतको सबै भुक्तानी समेत दिइसके तर पोखरी जिर्णोद्धार र पर्खालको काम पनि बाँकी नै छ। 
अध्यक्ष साहले अर्का भतिजा हुकुम साहलाई बाटो ग्रावेल गर्ने ठेक्का दिए। १५ लाख रुपैयाँको उक्त ठेक्कामा पनि कामै भएको छैन तर सबै रकम भने भुक्तानी दिइसकेका छन्। 

अर्का भतिजा विजय साहलाई पनि २ लाख ४७ हजार ३ सय ७९ रुपैयाँको ‘परियोजना’ दिएको देखिन्छ। भतिज उमाकान्त साहलाई पनि अध्यक्ष रामवल्लभ साहले विभिन्न आयोजनाहरु दिँदै आएका छन्।

आफन्तहरुलाई काम दिएर अनियमितता गरेको भन्दै स्थानीयले अध्यक्ष साह र तत्कालीन प्रमुख प्रशासकीय अधिकृत रविन्द्र महतविरुद्ध छानवीनको माग गर्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी दिइएको छ तर अख्तियारले कार्वाही अघि बढाएको छैन। 

लक्ष्मीपुर पतारी गाउँपालिकाकै वडा नं. ३ का वडाध्यक्ष हनुमान मण्डलले पनि भाइ अनिरुद्ध मण्डल र सहोदर काकाका छोरा कृष्णदेव मण्डलमार्फत् उपभोक्ता समितिहरु बनाई विभिन्न विकास निर्माणको जिम्मेवारी दिँदै आएका छन्।

अर्का भतिजा राजकुमार मण्डललाई पनि उपभोक्ता समितिको अध्यक्ष बनाएर काम दिँदै आएको खुलेको छ भने अर्का भतिजा सन्तोष मण्डललाई उपभोक्ता समितिको सचिव बनाएका छन्। 
वडाध्यक्ष मण्डलले पनि अनियमितता गरेर पतारी बजारनजिक हालै पक्की घर बनाएका छन्। उनका भाइ अनरुद्ले पनि ठीक उनकै घरको विपरीत दिशामा पक्की घर बनाइरहेका छन्। अनिरुद्धले उपभोक्ता समितिमा अनियमितता गरेको पैसाले घर बनाएको स्थानीयको आरोप छ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगका नवनियुक्त प्रमुख आयुक्त प्रेमकुमार राईले बिएल नेपाली सेवासँग कुरा गर्दै भने, ‘सबैतिरका स्थानीय तहमा अनियमितता हुँदै आएको छ। सिरहामा पनि अत्यन्तै भ्रष्टाचार भएको भन्ने उजुरी आएको छ।  सबै स्थानीय तहका भ्रष्टाचार जरैदेखि उखेल्ने छु।’

प्रमुख आयुक्त राईले सबै क्षेत्रका अनियमिततामा अख्तियारले कडा निगरानी राख्ने बताउँदै भने, ‘अनियमिततामा संलग्न सबैलाई कानुनी दायरामा ल्याइने छ, कोही उम्किने पाउने छैन।’ 

यो पनि हेर्नुहोस्...



मधेशी दलित उभ्याएर लाखौँ अनियमितता

कृत्रिम उपभोक्ता समिति खडा गरेर करोडौँ अनियमितता

वडाध्यक्ष हनुमान मण्डलका दाजुभाइले पनि ठड्याए पक्कि घर

अनियमितता गर्दै, घर ठडयाउँदै, अख्तियार मौन

सचिवबीच आफ्नै नाममा बजेट निकासा गर्ने होडबाजी

राजा हरिसिहं देवले खनेको पोखरीको नाममा ब्रम्हलूट 

लक्ष्मीपुर पतारीका स्थानीय भन्छन्ः अनियमितताको समाचार लेख्न पत्रकारहरू पन्छिन्छन्

तराईमा बढ्दो भ्रष्टाचार: गणतान्त्रिक नेपालका नवसामन्तवाद

गाउँपालिका प्रमुख रामबल्लभ साहको अर्को अनियमितताको पोल खुल्यो

गाउँपालिका प्रमुख रामबल्लभ साहको अनियमितताको अर्को पोल



 

प्रकाशित मिति: : 2021-02-13 16:29:00

प्रतिकृया दिनुहोस्