इलेक्टोरल भोट वाइडेनको पक्षमा भए ट्रम्पले ह्वाइट हाउस छोड्ने

राष्ट्रपति डोनाल्ड ट्रम्पले इलेक्टोरल भोट जो वाइडेनको पक्षमा आएको खण्डमा आफूले हार स्विकार गर्दै ह्वाइट हाउस छोड्ने बताएका छन्। 

बिहीबार ह्वाइट हाउसमा मिडियासँग कुराकानी गर्दै ट्रम्पले बताए, ‘निश्चित रूपमा यदी इलेक्टोरल कलेज भोटमा वाइडेनको जित भए म ह्वाइट हाउस छोडिदिन्छु। तर, २० जनवरीसम्म अझैं केही हुन बाँकी छ।’

अमेरिकाको राष्ट्रपति चुनाव ३ नोभेम्बरमा सम्पन्न भइसकेको छ। हालसम्म वाइडेनले ३ सय ६ र ट्रम्पले २ सय ३२ मत प्राप्त गरेका थिए। यति ठूलो अन्तरले पराजय भोगेपनि ट्रम्पले हालसम्म हार स्विकार गरेका छैनन्। उनले वाइडेनलाई जितको शुभकामना पनि भनेका छैनन्। 

ट्रम्पले पत्रकार सम्मेलनमा चुनावमा धाँधली भएको कुरा पुनः दोहर्‍याए। ‘चुनावमा निकै ठूलो धाँधली भएको छ। हाम्रो स्थिति तेस्रो विश्वका देश जस्तै भएको छ। हामीले प्रयोग गरिरहेको कम्प्युटर ह्याक भएको हुनसक्छ,’ उनले भने।

प्रकाशित मिति: : 2020-11-27 15:21:00

प्रतिकृया दिनुहोस्