रुकुम पश्‍चिममा जन्ती बोकेको जिप दुर्घटना, चारकाे मृत्यु

बिएल संवाददाता

रुकुम पश्चिम

रुकुम पश्चिमको आठबीसकोट नगरपालिकामा शुक्रबार साँझ जन्ती बोकेको जिप दुर्घटना हुँदा ४ जनाको ज्यान गएको छ।

आठबीसकोट नगरपालिका ८ को दाजेबाट १०/१२ जना जन्ति बोकेर वडा नं. १० को घारीखोला फर्किरहेको रा.१ ज ५८९ नम्बरको जिप दाजेमा दुर्घटना भएको हो। 

दुर्घटनामा परि आठबीसकोट नगरपालिका ८, का अन्दाजि ५१ वर्षीय कलिभान नेपाली, सोहि ठाउँका ४८ वर्षीय आइते चनारा, ५१ वर्षीय गोरे नेपाली र ६६ वर्षीय सार्के नेपालीको घटनास्थलमै ज्यान गएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।

चारै जनाको घटनास्थलमै ज्यान गएकाे उनकाे भनाइ छ।

यता वडा नं. ८ कै ५८ वर्षिय लालबहादुर नेपाली गम्भीर घाइते भएको जिल्ला प्रहरी प्रमुख प्रहरी नायव उपरीक्षक ठगबहादुर केसीले जानकारी दिए। 

नेपालीको शरिरका विभिन्न अंगमा चोट लागेको र बोल्न सक्ने अवस्थामा नरहेको उनले बताए। उनलाई थप उपचारको लागि आठबिसकोट नगर अस्पताल लगिएकाे छ।

रोकेर यात्रु ओरालिरहेको जिप एक्कासी पछि सरेर दुर्घटना भएको प्रत्यक्षदर्शीले बताएका छन्। अघिल्लो सिटमा बसेकालाई ओरालेर पछाडीका यात्रु झार्ने क्रममा जिप पछि सरेको बताइएको छ।

जिप सडकबाट अन्दाजप १ सय मिटर तल खसेको थियाे।

जिप चालक वडा नं. ९ का अन्दाजि २८ वर्षीय डिल्लीबहादुर नेपाली फरार भएकाे प्रहरीले जनाएकाे छ। उनकाे खोजि भइरहेको छ। 

 

 

प्रकाशित मिति: : 2020-11-27 22:37:00

प्रतिकृया दिनुहोस्