‘कोरोना संक्रमितलाई बेड उपलब्ध गराउन नसक्दा मन भतभती पोल्छ’

रातोपाटी

काठमाडौँ
तस्बिर : रातोपाटी

माया श्रेष्ठ 

उपचारमा खटिएका स्वास्थ्यकर्मीहरुको एउटै उद्देश्य हुने गर्छ– बिरामीको ज्यान जोगाउँने । कोरोना महामारी फैलिएपछि बिरामीको ज्यान जोगाउने मात्रै हैन, आफ्नै ज्यानसमेत कसरी सुरिक्षत राख्ने भन्ने चुनौती उनीहरुसामु तेर्सिएको छ । विशेषतः कोराना संक्रमितको उपचारमा खटिएका चिकित्सक–स्वास्थ्यकर्मीहरुका सामु तेर्सिएको जब्बर चुनौती यही नै हो । दुःखको कुरा सुरक्षाका अधिकतम उपायहरु अपनाउँदा अपनाउँदै पनि थुप्रै स्वास्थ्यकर्मीहरु संक्रमणका शिकार बनेका छन् भने कतिपयले त ज्यान नै समेत गुमाइसकेका छन् ।

त्यस्तै चुनौतीको सामना गर्दै कोरोना संक्रमितका उपचारमा अग्रपंक्तिमा रहेर अहोरात्र खटिएका चिकित्सकहरुमध्येका एक हुन् – डा. सन्तकुमार दास । तबदेखि छाती रोग विशेषज्ञ डा. दास त्रिवि शिक्षण अस्पताल (टिचिङ) का कोभिड संयोजक समेत हुन् ।

कोरोना संक्रमितको उपचारमा खटिन थालेपछि उनलाई विगत ८ महिनायता बिदा बसेको समेत याद छैन । काठमाडौं उपत्यकामा कोभिडका जटिल बिरामीको संख्या बढ्न थालेसँगै थपिएका चुनौती र जिम्मेवारीले गर्दा अस्पतालबाट कति बेला घर फर्किने– कुनै ठेगान हुँदैन ।

उपचारको क्रममा जतिसुकै सावधानी अपनाए पनि संक्रमण सर्ने सम्भावना प्रवल रहन्छ । त्यही कारण, अस्पतालबाट घर फर्किएपछि पनि उनी जनस्वास्थ्यका नियमहरु कठोरतापूर्वक पालना गर्छन् ।  कोरोना संक्रमितको उपचारमा आफूलाई होमेपछि उनले घरको छुट्टै कोठामा जनस्वास्थ्यका मापदण्ड अपनाएर बस्न थालेको करिब ८ महिना हुन् आँट्यो । कोभिडकै कारण लामो समयदेखि बच्चाहरुसँगै बसेर भलाकुसारी गर्न नपाएकोमा उनलाई निक्कै सकस हुन्छ । तर, त्योभन्दा पनि बढी पीडा चाहिँ कोभिडका गम्भीर बिरामीलाई चाहँदाचाहँदै पनि बेड उपलब्ध गराउन नपाउँदा हुन्छ, भन्छन्– ‘त्यो स्थितिमा विवशताले मन भत्भती पोल्छ !’

प्रकाशित मिति: : 2020-11-28 12:12:00

प्रतिकृया दिनुहोस्