पर्यटन उद्यमीको संघर्ष र सपना

हिमाल खबर

काठमाडौँ
तस्बिर : हिमालखबर

रिंकु वाग्ले 
पर्यटन व्यवसायी र कलाकार राजन सिम्खडाको पहिलो पुस्तक हो, 'हिंडे पुगिन्छ'। संस्मरणात्मक शैलीमा लेखिएको पुस्तकमार्फत लेखकले आफ्नो संघर्ष, सफलता र सपनाका कुरा साझा गरेका छन्। विशेष गरेर पर्यटन र कलाकारिता क्षेत्रको अनुभव समेटिएको पुस्तकले मुलुकमा आर्थिक समृद्धिको संभावना पनि देखाउँछ। 

पुस्तकलाई चार खण्डमा बाँडिएको छ– बालापन र जन्मेहुर्केको परिवेश, संघर्षमय दिन, सफलता र पर्यटनमार्फत देश विकासको योजना। शुरुआत भने पारिवारिक पृष्ठभूमिबाट गरिएको छ। लेखकले वंशावलीको इतिहास समेटेर आफ्नो पुर्खाप्रति सम्मान गरेका छन्। बालापन र त्यस क्रममा पाएको संस्कारको व्यक्तिगत प्रसंगबाट लेखकले पाठकसँग निकट सम्बन्ध जोड्न खोजेका छन्।

हिमालप्रतिको लगाव र कलाकारिता यात्रा सम्बन्धी लेखोटले पुस्तकलाई रोचक बनाएको छ। पुरानो समयको काठमाडौं र लेखकले घुमेका ठाउँको चित्रण कलात्मक ढंगले प्रस्तुत गरिएको छ। आफू गएको हरेक ठाउँको इतिहास पनि उनले समेटेका छन्, जसबाट उनको कुशल गाइडको क्षमता ठम्याउन सकिन्छ। मानसरोवर, लोमान्थाङ, घान्द्रुक आदि ठाउँहरुको शब्दचित्र सजीव लाग्छ। 

पोर्टरदेखि गाइड हुँदै बहुव्यवसायीसम्मका यात्राका हरेक मोडमा पाठकलाई पनि सँगसँगै भएको अनुभूति दिलाउन लेखक सफल देखिन्छन्। लेखकका भोगाइ र जीवन संघर्षलाई नजिकैबाट नियालेको अनुभूति हुन्छ। 
 

प्रकाशित मिति: : 2020-11-28 12:20:00

प्रतिकृया दिनुहोस्