कृषि सडकको स्थलगत अनुगमन

फाइल तस्बिर

राष्ट्रियसभामा सत्ता पक्षका प्रमुख सचेतक खिमलाल भट्टराईले निर्माणाधीन कृषि सडकको आज स्थलगत अनुगमन गरेका छन्।

 रुपन्देहीको सैनामैना नगरपालिका– ५ स्थित किसुली—कर्महा, बक्सड–बुद्धनगर सडकको अनुगमन गर्दै शुद्धोधन गाउँपालिका र गैडहवा गाउँपालिका जोडनका लागि पुल निर्माणको सर्वे हुन लागेको उनले जानकारी दिए। 

उनले सडकको कालोपत्रको काम गुणस्तरिय गर्न स्थानीयले घच्घचाइरहनुपर्नेमा जोड दिँदै सडक कालोपत्रका लागि बजेटको अभाव नहुने स्थानीयलाई आश्वासन दिएका छन्। सैनामैना नगरपालिकाका प्रमुख चित्रबहादुर कार्कीले नगरपालिकाका दुर्गम क्षेत्र पनि शहरउन्मुख हुन लागेको उल्लेख गर्दै सडकका कारण नगरपालिकाको सौन्दर्य बढ्दै गएको बताए। 

गत आर्थिक वर्षमा रु एक करोडको लागतमा ८५० मिटर सडक कालोपत्र भएकामा यस आर्थिक वर्षमा रु एक करोड २५ लाखको लागतमा एक हजार १०० मिटर सडक कालोपत्र हुन लागेको छ। बक्सड गाउँका बीचमा करिब ५०० मिटर नालासमेत निर्माण भइरहेको नगरपालिकाको वडा नं ५ का वडाध्यक्ष पर्शुराम सापकोटाले जानकारी दिए। प्रमुख सचेतक भट्टराईको पहलमा सो सडक कालोपत्र भएको हो। 

सडकको अवस्था जीर्ण हुँदा मुख्य राजमार्गसम्म आउनका लागि स्थानीयले लामो समयदेखि सास्ती खेप्दै आएका थिए। सङ्घीय सरकारको भौतिक पूर्वाधार मन्त्रालयबाट सो रकम निकासा भएको बताइएको छ। करिब साढे पाँच किलोमिटर सडक कालोपत्र गर्न कूल लागत करिब रु नौ करोड अनुमान गरिएको छ। गत असोजदेखि शुरु गरिएको सडक कालोपत्रको काम आगामी वैशाखको अन्त्यसम्ममा सक्ने लक्ष्य लिइएको छ। सडक कालोपत्र गर्दै बुद्धनगर जोडिनेछ। रासस 

प्रकाशित मिति: : 2020-11-28 13:01:00

प्रतिकृया दिनुहोस्