चीन सरकारले रक्षामन्त्री वेई फेङ्हेको नेपाल भ्रमणपछि नेपालको राष्ट्रिय अखण्डता रक्षाका लागि सहयोग गर्ने बताएको छ।
रक्षामन्त्री फेङ्हेले मंसीर १४ गते गरेको नेपाल भ्रमणबारे त्यहाँको रक्षा मन्त्रालयद्वारा जारी ‘न्यूज रिलिज’ मा सो कुरा उल्लेख गरेको छ ।
रक्षामन्त्री वेईको भनाइ उद्धृत गर्दै सोमबार जारी सो विज्ञप्तिमा भनिएको छ, ‘वेईले नेपालको एक चीन नीतिको उच्च सह्राना गरेको र चीनले पनि नेपालको राष्ट्रिय स्वतन्त्रता, सार्वभौमिकता र राष्ट्रिय अखण्डताको रक्षा गर्न उल्लेख्य सहयोग गर्ने बताएका छन्।’
चीनको रक्षा मन्त्रालयद्वारा जारी सो न्यूज रिलिजमा रक्षामन्त्री वेईले नेपाल र चीनका बीच भएका उच्चस्तरीय भ्रमणहरुले नेपाल र चीनको सम्बन्धलाई अपग्रेड गर्दै रणनीतिकस्तर पुगेको दावी गरेका छन्।
चीनका रक्षामन्त्री वेईले यो कुरा नेपालका राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री केपी शर्मा ओलीसँग कुराकानीका सन्दर्भमा भनेका थिए। राष्ट्रपति विद्यादेवी भण्डारीले नेपालको स्थायित्वका लागि चीनले योगदान दिएको चिनिया रक्षामन्त्रीसँग बताएको चीनको रक्षा मन्त्रालयद्वारा जारी विज्ञप्तिमा जनाइएको छ।
राष्ट्रपति भण्डारीलाई उद्धृत गर्दै चिनियाँ विज्ञप्तिमा भनिएको छ, ‘भण्डारीले कोभिड१९ विरुद्धको लडाईंमा राष्ट्रपति सी जिनपिङको नेतृत्वमा चीनले हासिल गरेको जीतका लागि बधाइ दिएको र नेपालको आर्थिक विकास तथा सामाजिक स्थायित्वमा दिएको चीनको सहयोगका लागि कृतज्ञता व्यक्त गरेकी छिन्।’